माघेसंक्रान्तिमा बहुउपयोगी मानिने तरुल
हेटौंडा- खाद्यप्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णका अनुसार तरुल निक्कै पोषिलो र वहुउपयोगी खाद्यपदार्थ हो । तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेट, प्रोटिन, मिनरल्स, इनर्जी, भिटामिन पाइने भएकाले यसलाई पोषिलो खानाको रुपमा लिइन्छ । खानाको रुपमा पनि तरुललाई खान सकिने कर्णको सुझाव छ । ‘खानाको रुपमा प्रयोग गरिने चामलभन्दा आलुमा बढी पोषण तत्व छ,’ महानिर्देशक कर्णले भने, ‘त्यसैगरी तरुलमा पनि चामलभन्दा बढी पोषण तत्व छ । यसलाई खानाको रुपमा प्रयोग गर्दा पनि हुन्छ । वहुउपयोगी गुणको धनी मानिएपनि सर्वसाधारणमा सचेतनाका कारण अझै यसको भरपुर रुपमा उपभोग हुन सकेको छैन ।’
खाद्य विभागकाअनुसार तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ । उसिनेर नुनखुर्सानीसँग चोपेर खाजाको रुपमा खान सकिन्छ । यस्तै तरकारी र अचारको रुपमा पनि उपभोग गर्न सकिन्छ । कर्णका अनुसार तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ । यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ ।
पछिल्लो ४–५ वर्षयता नेपालमा तरुलको ब्यापार निक्कै फस्टाएको छ । पहिले खान नरुचाउने उपभोक्ताले पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले यसको विभिन्न प्रकारको परिकार खान थालेका छन् । जसले गर्दा यसको कारोबार ह्वात्तै बढेको हो । काठमाडौं उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ । सर्लाहीका किसानले बागमतीको बगरमा सार्वजनिक रुपमा तरुल खेती गरिरहेका छन् । बाँकी २० प्रतिशत भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले ओगटेको छ ।
कालिमाटी बजारका व्यवसायीका अनुसार यो वर्ष बजारमा धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, ललितपुरलगायत जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भित्रिएको थियो । बजारमा अत्याधिक महँगो मानिएको बनतरुल, घरतरुल, हात्तिपाइलेतरुल, रातोपत्तालेतरुल, मुढेतरुल, सिमलतरुल, पानीतरुल, सर्लाहीतरुल, तराईतरुल नामका तरुलको कारोबार भएको छ ।







