कारको ठक्करबाट तीनजना घाइते
हेटौंडा-हेटौंडामा सवारी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । सोमबार साँझ हेटौंडा–धरानचतरा सडकखण्डअन्तरगत हेटौंडा–१६ सिपालीचोकमा फापरबारीबाटहेटौंडा तर्फ आउँदै गरेको बा ९ च १३३८ नम्बरको कार दुर्घटना भएको हो । कार अनियन्त्रित भई प्रकाश गौतमको एकतले पक्कीघरको सटरमा ठक्कर खाँदा सोही स्थानमा बसिरहेका तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले बताए । कार तीव्रगतिका कारण घरमा ठोकिन पुगेको प्रारम्भिक अुनसन्धानले देखाएको उनले बताए ।
‘हामीले कारचालक हेटौंडा–१० निवासी सानु थापालाई नियन्त्रणमा लिएका छौं, घाइतेको तत्काल हेटौंडा अस्पताल लगिएको छ’ प्रवक्ता अर्यालले बताए ।
घाइते भएका मालती गौतमलाई थप उपचारको लागि विएण्डवि अस्पताल काठमाडौंमा, राधिका आचार्यको थप उपचारको लागि न्यूरो अस्पताल बाँसबारीमा र उनका छोरा श्रयान आचार्यको थप उपचारको लागि बिएण्डबि अस्पतालमा रिफर गरिएको प्रवक्ता आर्यालले बताए । श्रयानको टाउको र ढाडमा चोट लागेको जनाइएको छ भने राधिकाको टाउकोमा भित्रि चोट र मालतीको खुट्टा र हातमा चोट लागेको हेटौंडा अस्पतालले जनाएको छ ।







