हेटौंडा–१२ आज बालमैत्री वडा घोषणा हुने
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१२ लाई आज बुधबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो ।पत्रकार सम्मेलनमार्फत हेटौंडा–१२, का वडासदस्य महेश भट्टराईले निकृष्ट बालश्रममुक्त र बालबिवाहमुक्त वडा घोषणा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जानकारी दिए । ४७ वटा सूचकमा सतप्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गरेकाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको भट्टराईले बताए ।
बालअधिकारका चार क्षेत्र बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिताको ३६ र संस्थागत विकासको १५ प्रतिशत गरी बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएको उनले बताए । घरधुरी तथ्यांक संकलन सर्वेक्षण २०७९ अनुसार यो वडामा कुल २ हजार २ सय ३६ घरधुरी रहेको छ ।वडामा १८ वर्षमुनिका बालबालिका ३ हजार ७८ रहेको छ । जसमा १ हजार ५ सय ७८ बालक र १ हजार ५ सय बालिका छन् । सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालय रहेको छ । २२ वटा बालसमूह र १ वडास्तरीय बाल सञ्जाल रहेको छ । जसमा ५ सय ५० जना बालबालिका आवद्ध छन् ।
विभिन्न संरचनागत समितिमा ५ सय ८९ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको बताइएको छ । २०७९ भदौ २४ गते हेटौंडा उपमहानगर कार्यपालिका बैठकले सम्पूर्ण वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरिएको थियो ।२०७९ मंसिर २० गते सरोकारवाला निकायको उपस्थितिमा अभिमुखीकरण र प्रतिवद्धता जाहेर गर्दै अभियान सुरु गरिएको हो ।







