मकवानपुरको दुई पालिकामा चट्याङ प्रतिरोध प्रबिधि राखिने

साझाकुरा
२०८१ माघ ३, बिहीबार १३:०६

हेटौंडा- चट्याङजन्य प्रकोप बढ्दै गएपछि मकवानपुरको दुई गाउँपालिकामा चट्याङ प्रतिराध प्रबिधि राखिने भएको छ । केही वर्षयता मकवानपुरका बिभिन्न ग्रामीण बस्तीमा चट्याङजन्य प्रकोप बढ्दै गएको छ । राक्सिराङ र मकवानपुरगढी गाउँपालिका चट्याङजन्य प्रकोपका कारण बर्सेनि मानवीय, घरपालुवा जनावर एवं भौतिक क्षति हुँदै आएको छ । चट्याङजन्य प्रकोपका कारण बर्सेनि धनजनको क्षति हुने क्रम बढ्दै गएपछि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको चट्याङजन्य प्रकोप न्यूनीकरण सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागीले चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि प्रविधिको प्रयोगमा जोड दिएका हुन् ।

दक्षिण एसियाली चट्याङ सञ्जालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सञ्जालका अध्यक्ष डा. श्रीराम शर्माले चट्याङ पर्नुका कारण, चट्याङबाट बच्ने र चट्याङजन्य प्रकोप न्यूनीकरणका उपाय, प्रविधिको प्रयोग, चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि भएका प्रयास, अन्यत्रको अनुभव, सिकाइबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । चट्याङजन्य प्रकोपबाट उच्चजोखिममा रहेको राक्सिराङ गाउँपालिकामा प्रकोप न्यूनीकरणका लागि भइरहेको प्रयास, सिकाइ र गैरसरकारी संस्थाको सहयोगमा पूर्वचेतावनी प्रणाली राख्न भइरहेको तयारीका बारेमा छलफल गरिएको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चट्याङजन्य प्रकोपका कारण प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति हुनेक्रम बढ्दै गएको भन्दै चट्याङजन्य प्रकोप न्यूनीकरणमा सचेतना कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले चट्याङजन्य प्रकोपको बढी जोखिम भएका पालिकामा सचेतनासँगै प्रविधिको प्रयोग गर्ने गरी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट व्यवस्था गरेको जानकारी दिए ।कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानले चट्याङजन्य प्रकोपका दृष्टिले मकवानपुगढी उच्चजोखिममा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि सहकार्य र समन्वय आवश्यक भएको बताए । राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले चट्याङजन्य प्रकोपका कारण राक्सिराङमा हरेक वर्ष ठुलो क्षति हुने गरेको बताउँदै पालिकाले सहयोगी संस्थाको सहयोगमा चट्याङजन्य प्रकोपका लागि गरिरहेका प्रयासका बारेमा जानकारी दिए ।

मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीको अध्यक्षतामा भएको कार्यक्रममा चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि प्रदेश सरकारले गरेका तयारी र आगामी कार्यक्रमबारे छलफल गरिएको थियो । मकवानपुरगढी र राक्सिराङका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, मन्त्रालयका कर्मचारी सहभागी कार्यक्रममा मन्त्रालयका उपसचिव सुरेश खनालले चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि सचेतनासँगै प्रदेश सरकारले पहिलोचरणमा मकवानपुरगढी गाउँपालिकामा अर्थिङ राख्ने योजना बनाएको जानकारी दिए ।
‘अर्थिङ राख्दा लाग्ने खर्चका बारेमा सुरुमा अध्ययन गर्छौं,’ उपसचिव खनालले भने, ‘चालु आवका लागि विनियोजित बजेट अनुसार मकवानपुरगढीका सामुदायिक भवन, विद्यालय र स्वास्थ्यसंस्थामा अर्थिङ राख्ने योजना छ ।’

उनले पूर्वचेतावनी प्रणाली राख्दा १५ देखि ३० मिनेटअघि चेतावनीसहितको सूचना आउने भएकाले चट्याङजन्य प्रकोपबाट बच्न सतर्कता अपनाउन र सुरक्षा दिन सकिने भन्दै
राक्सिराङमा गरिने प्रयोग, सिकाइ र अनुभवपछि अन्य स्थानमा यो प्रविधिलाई अगाडि बढाउनेबारेमा छलफल गरिएको बताए । प्रदेश सरकारले चालु आवमा अर्थिङ राख्न २० लाख रुपैयाँ र चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि सचेतना कार्यक्रम गर्न पाँच लाख रुपैयाँ विनियोजन गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*