मकवानपुरमा डेंगु संक्रमण २५ सय पुग्यो

साझाकुरा
२०८१ माघ ६, आईतवार १३:४३

हेटौंडा- मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । चिसो मौसममा पनि डेंगु सङ्क्रमित दैनिक थपिदै गएका छन् । मकवानपुरमा पछिल्लो २४ घण्टामा ५ जनामा थप डेंगु सङ्क्रमित फेला परेका हुन् ।चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा मकवानपुरमा डेंगु सङ्क्रमित संख्या दुई हजार ४९८ पुगेको छ । गत आर्थिक वर्षमा मकवानपुरमा ८९१ जनामा डेंगु भएकोमा चालु आवको छ महिनामै डेंगु सङ्क्रमण ह्वात्तै बढेको तथ्यांक छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार एक हजार २९४ पुरुष र एक हजार २०४ जना महिलामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । चिसो बढेपनि डेंगु सङ्क्रमण पुष्टि हुने क्रम रोकिएको छैन । जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार सबैभन्दा धेरै हेटौंडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ एकहजार ८ पुरुष र ९५७ महिला गरी एक हजार ९६५ जनामा डेंगुु सङ्क्रमण पुष्टि भइसकेको छ ।

मनहरी गाउँपालिकामा २७५ जना, मकवानपुरगढीमा ५६, भीमफेदी गाउँपालिकामा ४४ जना, बकैया गाउँपालिकामा २८, थाहा नगरपालिकामा १३, कैलाशमा ११, राक्सिराङ गाउँपालिकामा १०, बागमतीमा ६ जनामा डेंगु पुष्टि भएको हो । अन्य जिल्लाका ४८ जना र ठेगाना नखुलेको ४२ जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्रसरोवरमा डेंगु सङ्क्रमितको संख्या शून्य छ ।

डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, पूरै शरीर ढाक्ने लुगा लगाउन जनस्वास्थ्य कार्यालय मकवानपुरले आग्रह गरेको छ । त्यस्तै मकवानपुरमा स्क्रव टाइफ्सका बिरामीको संख्या ४७६ पुगेको तथ्यांक छ । बितेको २४ घण्टामा ७ जना थप स्क्रव टाइफ्सबाट प्रभावित भएका हुन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ३१८ महिला र १५८ पुरुष स्क्रव टाइफ्सबाट प्रभावित बनेका हुन् ।

हेटौंडा उपमहानगरपालिकामा २९६, मकवानपुरगढीमा ६३, मनहरीमा ३१, बकैयामा २८ जना र भीमफेदीमा २० जना, राक्सिराङमा ७ जना स्क्रव टाइफ्सबाट प्रभावित भएका छन् । बागमतीमा ४ जना, कैलाशमा ५, इन्द्रसरोवरमा एकजना प्रभावित भएका छन् । जनस्वास्थ्य कार्यालयका अनुसार अन्य जिल्लाका १६ र ठेगाना नखुलेका ५ जना स्क्रव टाइफ्सबाट प्रभावित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*