थाहा–२ का कार्की परिवारले ईन्द्रायणीको बाहन राखे
हेटौंडा-थाहा नगरपालिका–२ अंगारेका माधव कार्की, राजेन्द्र कार्की, किरण कार्की, रामहरि कार्की, सुधर कार्कीका परिवार र कुशल शर्मा सहितले ईन्द्रायणीमाई मन्दिरमा सिंहको मूर्ति राखेका छन् । थाहा नगरको सक्तिपीठको रुपमा रहेको इन्द्रायणीमाइको मन्दिरमा इन्द्रायणीको बाहन सिंहको १२० किलोको २ फिट अग्लो शिलाको मूर्ति प्रतिस्थापन गरिएको हो ।सनिवार पूजाआजा सहित मूर्तिको प्राणप्रस्तिस्ठा गरिएको हो । इन्द्रायणीमाइको बाहनकारुपमा राखिएको सिंहको मूर्ति मन्दिरको दायाँतर्फ भाले र बायाँतर्फ पोथी सिंहका प्रतिस्थापन गरिएको हो ।
इन्द्रायणीदेवीको मूर्तिसँगै दायाँबायाँ २ वटा सिंहको शिलामूर्तिलाई मन्दिरका पूजारी सम्पूर्ण श्रेष्ठ, पंडित रामप्रसाद ढकाल र कार्की परिवारले संयुक्त रुपमा विधिपूर्वक पूजा गरेर प्राणप्रतिष्ठा गरेका हुन् ।मूर्ति प्राणप्रतिष्ठा गरेका थाहा–२ अंगारेका युवा व्यवसायी माधव कार्कीले मन्दिरको माथिल्लो भागमा रहेको २० मिटरको ढुंगाको नागको आकृतिलाई पनि धातुको बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले मन्दिर अगाडि हात्तीको मूर्ति र धातुको नाग हाल्ने बताए । कार्की परिवारको यो कार्यप्रति इन्द्रायणी भैरव गुठीले सराहनीय कार्य भन्दै सगुन र बाजासहित सम्मान गरेको थियो ।कार्यक्रममा इन्द्रायणी कालाभैरव गुठीका अध्यक्ष श्यामभक्त श्रेष्ठ, निरोज प्रधान, शम्भुसिं नापित, मधुकर बिक्रम श्रेष्ठलगायत थाहा–२ अंगारेका कार्की परिवारको उपस्तिथि रहेको थियो ।







