बेतखोल्सी वन उपभोक्ता समूहमा पुन प्याकुरेल

साझाकुरा
२०८१ माघ ७, सोमबार ११:२०

हेटौंडा, ६ माघ÷ हेटौंडा–९, मा रहेको बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।साधारणसभाको बन्दसत्रले पुनः वासुदेव प्याकुरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विमला भारती, सचिवमा प्रमीला चौधरी, सहसचिवमा राजन बर्तौला र कोषाध्यक्षमा चिरञ्जीवीप्रसाद पौडेल चयन भएका छन् । सदस्यमा सानु कार्की खड्का, बेलीलामा, पुण्यवर्ती घिमिरे, विष्णुमणि अधिकारी, तुलसीप्रसाद सुवेदी र मनोहरि नेपाल चयन भएका छन् । लेखा समितिको संयोजकमा जयराम खतिवडा र सदस्यमा रामशरण रेग्मी र राधेश्याम खतिवडा चयन भएका छन् । कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ ।

नयाँ कार्यसमितिको चयन गर्न अधिकृत दीपक अधिकारी संयोजक र सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य रामहरि चौलागाई र स्थानीय महासंघ हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । साधारणसभामा समूहका अध्यक्ष प्याकुरेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष चिरञ्जीवी पौडेलले चालू आव ०८१÷८२ को लागि ६४ लाख ३९ हजारको अनुमानित आयव्यय विवरण पेस गरेका थिए ।हेटौंडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्य एवम् समूहका अध्यक्ष प्याकुरेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा ज्येष्ठ उपभोक्ता गम्भीरबहादुर थापा, सुशिलादेवी अधिकारीलाई सम्मान गरिएको थियो भने समूहलाई रङ सहयोग गर्ने एसियन पेन्टसलाई समेत कदरपत्र प्रदान गरिएको थियो । साधारण सभामा उपभोक्ताले बाँदरबाट दुःख पाएको बताउँदै नियन्त्रणको लागि बजेट विनियोजित गर्न माग गरेका थिए । उपभोक्ता नवराज अधिकारीले बाँदरले बालीनालीमा क्षति पु¥याउनुका साथै घरभित्र पसेर पाकेको भात समेत खाने गरेको गुनासो गरे ।

उपभोक्ता तुलसी सुवेदी र उत्तमप्रसाद खतिवडालगायतले बाँदरबाट आफूले पनि अनेकौं प्रकारको दुःख पाएको बताउँदै नियन्त्रणको लागि सम्बन्धित निकायले ध्यान दिन आग्रह गरेका थिए । साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका वनअधिकृत दीपक अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सवडिभिजन वन कार्यालय, हेटौंडाका रेन्जर श्रीकृष्ण न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । ३७.९५ हेक्टर क्षेत्रफलमा फैलिएका यो सामुदायिक वनमा २ सय ४८ घरधुरी आबद्ध छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*