हेटौंडाको १८ नम्बर वडा बालमैत्री घोषणा

साझाकुरा
२०८१ माघ १०, बिहीबार ११:३४

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको १८ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बुधबार उपमहानगरप्रमुख मीनाकुमारी लामाले १८ नम्बरलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी छन् ।१८ नम्बर वडा हेटौंडा उपमहानगरपालिकाभित्रका १९ वटा वडामध्ये बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने १५ औँ वडा भएको छ । अब १ नम्बर वडा पनि बालमैत्री घोषणाको तयारीमा छ । सबै वडालाई बालमैत्री घोषणा गरिएपछि उपमहानगरलाई नै घोषणा गर्ने तयारी भइरहेको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा १८ नम्बरका वडाध्यक्ष अनिलकुमार बानियाँले वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वडाध्यक्ष बानियाँका अनुसार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक सूचक पूरा भएपछि घोषणासभागरिएको हो । आवश्यक ५१ सूचकमध्ये ४६ वटा सूचकमा शतप्रतिशत र बाँकी सूचकमा न्यूनतम नतिजा हासिल भएसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।कार्यक्रममा अध्यक्ष बानियाँले वडामा बालबालिकाको लागि पञ्चवर्षीय लगानी योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरे ।

ज्योति माध्यमिक विद्यालय, हर्नामाडीको परिसरमा भएको घोषणासभामा वडाका ६ वटा विद्यालयसहित १८ वटा बालसमूहका साथै अन्य विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । हेटौंडा उपमहानगरभित्र अब ४ वटा वडा बालमैत्री घोषणा हुन बाँकी रहेका छन् । जसमध्ये वडा नम्बर १ मा माघ ११ गते, ३ मा १३ गते र १५ मा १५ गते बालमैत्री घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*