प्रदेशस्तरमा तीन दिन सहिद दिवस मनाइने
हेटौंडा- बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिन भब्यरुपमा मनाउने भएको छ । यही माघ १४, १५ र १६ गते सहिद दिवस तीन दिन प्रदेशस्तरमा सहिद दिवस मनाउने निर्णय गरिएको हो ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको सरोकारवालाको भेलाले सहिद दिवस विशेष कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । सहिद दिवसको अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
सहिद दिवस मनाउन प्रदेश सरकारमा प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा मूलसमारोह समिति गठन गरिएको छ । सहिद दिवसका अवसरमा प्रदेशभरका सम्पूर्ण विद्यालयमा नियमित शैक्षिक क्रियाकलापका अतिरिक्त सहिदको विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता सञ्चालन गर्ने र माघ १६ गते बिहान ७ः३० बजे हेटौंडा ११ स्थित सहिदस्मारकमा मूलसमारोह कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
यसअघि सहिदस्मारक प्रवेशद्वारमा भेलाभई प्रभातफेरी गर्ने गरी कार्यक्रम तय गरिएको छ । उनका अनुसार कार्यक्रममा प्रदेशप्रमुखलाई प्रमुखअतिथिका रुपमा, मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री एवम् सहिदस्मारक विकास समितिका अध्यक्ष र सभामुखलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरिने छ । सहिद दिवस, २०८१ को अवसरमा माघ १४, १५ र १६ गते प्रदेश मन्त्रालय÷कार्यालय र सार्वजनिकस्थानको विशेष सरसफाइ गरिने र नगरक्षेत्र सरसफाइ कार्यको जिम्मेवारी हेटौंडा उपमहानगरलाई दिइएको छ ।
यस्तै, माघ १६ गते साँझ प्रदेशस्थित सबै मन्त्रालय÷ कार्यालय÷सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दीपावली गर्ने र यो कार्यका लागि प्रदेशवासीलाई समेत अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । सहिद दिवसमा प्रदेशभर सबै सार्वजनिक निकायमा सम्बन्धित निकायले राष्ट्रिय झण्डा फहराउने, हेटौंडास्थित बुद्धचोक र बसपार्कलगायतका तीनवटा सार्वजनिकस्थलमा राष्ट्रिय झण्डा राख्ने र सबै प्रदेश मन्त्रालय÷ निकायले आफ्नो बेवसाइटको होमपेजमा सहिद दिवस, २०८१ लेखिएको व्यानर राख्ने भेलाले निर्णय गरेको छ । १६ गतेको मूल कार्यक्रममा प्रभातफेरी तथा मञ्च व्यवस्थापनको जिम्मेवारी स्मारक विकास समितिले गर्ने भएको छ ।







