स्वदेशी उत्पादन प्रयोग गर्न प्रदेशप्रमुखको आग्रह

साझाकुरा
२०८१ माघ १२, शनिबार ११:०१

हेटौंडा-बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले स्वदेशी हस्तकला, कृषिउत्पादन प्रयोग र वितरण नेपाली उद्यमशीलताका महत्वपूर्ण स्तम्भ रहेको बताएका छन् । शुक्रबार हेटौंडा उपमहानगरपालिका–१० मा दोस्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम एवम् शैक्षिक मेला २०८१ को उद्घाटन गर्दै प्रदेशप्रमुख देवाकोटाले स्व–उत्पादन प्रयोग गरी आत्मनिर्भरतालाई बलियो बनाउनु पर्ने बताएका छन् ।आन्तरिक उत्पादनमा अधिकतम खपत र निकासी गर्नुपर्नेमा जोड दिंदै स्थानीय निकायले कानूनीरुपमा स्थानीय उत्पादनको बिक्री–वितरण र प्रयोगमा ठोस, परिणाममुखी कदम चाल्नुपर्ने प्रदेशप्रमुख देवकोटाको भनाई छ । स्वेदशी सामग्रीको गुणस्तर र किफायती मूल्य कायम गर्नुपर्ने भन्दै देवकोटाले भने, ‘हाम्रा स्थानीय र स्वदेशी सामग्री कार्यालयको पहिरन वा व्यक्तिगत उपहार र सजावटमा प्रयोग गर्नुपर्छ । गुणस्तर र किफायती मूल्य कायम गर्नुपर्छ । आखिर, यो सुरु गर्ने तपाईं एक हुनुहुन्छ ।’

प्रदेशप्रमुख देवकोटाले स्थानीय तथा स्वदेशी कच्चापदार्थलाई सकेसम्म बढी प्रयोग गरी उत्पादनमा जोडेर बजारको खोजी र विस्तार गर्नुपर्ने बताए । सूचनाप्रविधिलाई अधिकतम प्रयोग गरी फाइदा लिनुपर्ने बताउँदै उनले त्यसतर्फ राज्यका सबै निकाय सहयोगी बन्न जरुरी रहेको उनले उल्लेख गरे । स्थान विशिष्ट र स्थानीय कच्चा पदार्थको आधारमा उत्पादन पकेटक्षेत्र घोषणा गरी आधारभूत पूर्वाधारसहित औद्योगिकग्राम निर्माण गर्नुपर्ने देवकोटाको भनाई छ । यसो गर्दा लक्ष्यउन्मुख बाटोमा अघि बढ्दै समृद्धि हासिल गर्न सफल हुने दाबी देवकोटाले गरे ।

स्वदेशी उत्पादनको प्रयोगलाई सबैले आत्मसात गर्दै अगाडि बढ्न प्रदेशप्रमुखको आग्रह थियो । हेटौंडा–१० वडा कार्यालयको आयोजनामा सुरु भएको प्रदर्शनी एवम् शैक्षिक मेला शनिबारसम्म संचालन हुनेछ । उद्घाटन कार्यक्रम वडाध्यक्ष फूर्वादोर्जे लामाको सभाध्यक्षमा भएको हो । वडाध्यक्ष लामाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी मेलाको आयोजना गरेको बताए ।प्रदर्शनीमा हेटौंडा नगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि, ढाकाबाट बनेका समानको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ । व्यवसायीलाई स्टल निःशुल्क उपलब्ध गराइएको वडाध्यक्ष तामाङले बताए । कार्यक्रम टोल विकास संस्था, नगरसमन्वय समिति, वडा समन्वय समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पादेवी उद्यमी महिला केन्द्र, स्थानीय क्लब, राजनीतिक दललगायत विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी बल १४ नं. गणका प्रमुख प्रहरीउपरीक्षक ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, उपमहानगरका जनप्रतिनिधि, विद्यार्थी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*