२२ हजारबढी छात्रालाई एचपिभी खोप लगाइने
हेटौंडा- पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) मकवानपुरका करिब २२ हजार बढी छात्रालाई लगाइने भएको छ ।१० वटा पालिकाभित्रका विभिन्न विद्यालयमा अध्यनरत २२ हजार ७१३ जना छात्रालाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार देशव्यापी अभियानका रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार मकवानपुरका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदैछ ।
मकवानपुरका २४० वटा विद्यालय र ११० वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन गरिनेछ । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका २२ हजार ५९ जना छात्रालाई विद्यालयमै र विद्यालय नजाने करिब ६५४ जना छात्रालाई खोपकेन्द्रबाट खोप लगाइने तयारी गरिएको घिमिरेले बताए । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले खोप अभियानमा जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वमसेवक परिचालन गरिने र प्रत्येक खोपकेन्द्रमा एकजना स्वास्थ्यकर्मी र २ जना स्वमसेवक परिचालन गरिने बताए ।
सबै स्थानीय तहसँग समन्वय गरी खोप अभियान प्रभावकारी बनाईने भन्दैे कार्यक्रममा खटिने स्वास्थयकर्मीलाई तालिम दिइसकेको र आगामी २० गतेभित्र सबै स्थानीय तहमा खोप पुग्ने प्रमुख मिजारले बताए ।प्रमुख मिजारका अनुसार यो अभियानले ९० प्रतिशत किशोरीलाई खोप पु¥याउने लक्ष्य राखेको छ । महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचारसमेत सुनिश्चित गर्ने सरकारको योजना अनुसार यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताए ।खोप कार्यक्रममा लक्षित समूहका छात्रालाई अनिवार्यरुपमा सहभागी बनाउन समेत उनले आग्रह गरे ।







