स्वास्थ्य अनुसन्धानमा नैतिकता विषयमा दुईदिने तालिमको समापन
हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान कमिटी र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको संयुक्त आयोजनामा स्वास्थ्य अनुसन्धानमा नैतिकता विषयमा दुईदिने तालिम हेटौंडामा सकिएको छ ।कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका डा. इन्दिरा अधिकारी पौडेल तथा प्रष्ठिानका उपकुलपति डा. प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा विशेष अतिथि डा. प्रमोद जोशी, सदस्यसचिव, नेपाल स्वास्थ्य अनुसन्धान परिषद साथै, अतिथि प्रतिष्ठानका रजिष्टार भीमसागर
गुरागाईं, प्राध्यापक दुर्गाकुमारी खड्का रहेका थिए ।
तालिममा प्रतिष्ठानका विभिन्न विभागका ३५ जना सहभागीले भाग लिएका थिए । तालिमको सहजीकरण नेपाल स्वास्थ्य अनुसन्धान परिषदका विज्ञ र चिकित्साशास्त्र अध्ययन संस्थानका डीन, प्रा.डा. मोहनराज शर्माले गरेका थिए । कार्यक्रमको उद्देश्य रिसर्च सदस्यलाई नियम, विनियम, मार्गदर्शन र स्वास्थ्य अनुसन्धानमा नैतिकता बारेमा जानकारी दिनु, स्वास्थ्य अनुसन्धानको नैतिक समीक्षा प्रक्रियामा ज्ञान र सीपलाई सुदृढ गर्नु, स्वास्थ्य अनुसन्धानको प्रस्ताव विकास र सञ्चालनको दौरानमा सिकेका नैतिकता सम्बन्धी ज्ञानलाई कार्यान्वयन गर्नु र स्वास्थ्य अनुसन्धानमा नैतिकताको आधारभूत सिद्धान्तलाई अपडेट गर्नु थियो ।
यस तालिमले स्वास्थ्य अनुसन्धानमा नैतिक अभ्यासलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा यस्ता तालिमको निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता कार्यक्रमका प्रमुख अतिथि उपकुलपति डा. ज्ञवालीले व्यक्त गरे ।







