बिबाहको उमेर २० बर्ष नै कायम गर्न ध्यानाकर्षणपत्र हस्तान्तरण
हेटौंडा-मकबानपुरमा कार्यरत सामाजिक संघसस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत् कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बिबाहको उमेर २० वर्ष नै कायम गर्नको लागि ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिद्वारा गठन गरेको उपसमितिमार्फत् २०८१ माघ २ गते बिबाहको उमेर १८ वर्षमा झार्न सुझाव दिएको विषयमा नागरिकसमाज, गैरसरकारी संस्थाको ध्यानाकर्षण भई बिबाहको उमेर २० वर्ष नै कायम गर्न गराउन प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालमार्फत कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा हस्तान्तरण गरिएको हो ।
ज्ञापनपत्रमा उल्लेख भएको ब्यहोराको बारेमा बालकल्याण समाजको अध्यक्ष प्रकाश खतिवडाले बिगतमा भएका बिभिन्न अध्ययन, अनुसन्धान अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, मानशिक परिपक्वताको दृष्टिले बिबाहको उमेर २० वर्ष कायम गरी नीतिनियम र ऐन कानुन तय गरिएको बताए । कम उमेरमा बिबाह हुँदा छिटो गर्भवती हुने, बालबालिकाको मृत्यु हुनसक्ने, गर्भवती आमा र बच्चा दुबैको स्वास्थ्यमा गम्भिर जोखिम पुग्न सक्ने खतिवडाले बताए । कम उमेरमो विवाह हुँदा किशोरकिशोरी, महिला तथा युवाकोे स्वास्थ, शिक्षामा समेत प्रत्यक्ष असर गर्दछ ।
बालविवाहले बालबालिका तथा किशोरकिशोरीलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन उनीहरु भविष्यको छनोट गर्ने अधिकार तथा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित हुन्छन् । विशेषगरी बालिका र महिलाको सन्र्दभमा बालविवाहले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरुको जीवनचक्रमा थुप्रै अधिकार उल्लंघनको श्रृंखला सिर्जना गरी थप हिंसाको शिकारमा पर्नसक्ने अवस्था रहन्छ ।
बालविवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लै·िकहिंसा, यौनजन्यहिंसा, बालश्रम, बेचबिखन जस्ता थप जोखिमले बालबालिका र महिला थप प्रभावित हुन पुग्ने बताइएको थियो । ज्ञापनपत्र मानवअधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संजालको अध्यक्ष आरती पाठकलगायत मानवअधिकार संगठनको अध्यक्ष शर्मिला श्रेष्ठ, कोशिशको पैरबी अधिकृत सुनिरा लामा, हिमराईट्सको कार्यक्रम संयोजक कुमारी वाईबा, माइती नेपालको कार्यक्रम संयोजक माया लामा, शान्ति फाउण्डेसनको जिल्ला अधिकृत सीता गुरुङ, साना हातहरुको स्टेशन म्यानेजर डिकम्बर रुपाचा, नारी संरक्षण केन्द्रको अध्यक्ष दीपा गुरुङ, सुनिता फाउण्डेशनको प्रतिनिधि सुमित्रा घलान, अस्मीता नेपालको मुकेश कुशवाहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी चिरुवाललाई हस्तान्तरण गरेका थिए ।
विद्यालयका बालबालिकाले बिबाहको उमेर २० वर्ष कायम गराई पाउन भनि लेखिएको पत्र अस्मिता नेपालको थापाबहादुर दोङले बाचन गरेका थिए । हस्तान्तरण गरिएको ध्यानाकर्षणपत्र बुझ्दै समयमै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा पठाईदिने बचनबद्धता गर्दै संघसंस्थाले उठान गरेको विषयको प्रजिअ चिलुवालले सम्मान गरेका थिए ।







