दशकपछि व्यापार महोत्सव गर्दै निर्माण व्यवसायी संघ

साझाकुरा
२०८१ माघ १६, बुधबार ११:१८

हेटौंडा-१० वर्षपछि निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडामा व्यापार महोत्सव गर्ने भएको छ । २०७१ सालमा पहिलोपटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो ।मंगलबार पत्रकार सम्मेलन गर्दै दोश्रो संस्करणको रुपमा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडा १० स्थित टिसिएनचौरमा गर्न लागिएको जानकारी दिएको हो । निर्माण व्यवसायीसँगै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउन महोत्सवले योगदान पु¥याउने संघका अध्यक्ष बालगोपल कँडेलले बताए । महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौती, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्क कार्यक्रम हुनेछ ।

निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनी र बिक्री गरिने अध्यक्ष कँडेलले बताए । महोत्सवको अवधिमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताका राय, सल्लाह, सुझाव संकलन गरिने उनले बताए । महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्रीलगायत ३ सय ५० वटा स्टल रहने जनाइएको छ । स्थानीय उत्पादनका स्टललाई ५० प्रतिशतसम्म शुल्क छुट दिइने संघले जनाएको छ ।

गायनक्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुती रहने महोत्सवमा जिल्ला बाहिरका १ सय बढी स्टल रहने अनुमान गरिएको छ । १ करोड ३ लाख कुल लागतमा महोत्सव सम्पन्न हुँदा १ करोड १७ लाख रुपैयाँ आम्दानी हुने संघको अनुमान छ । महोत्सवको प्रवेश शुल्क ७५ रुपैयाँ र विद्यार्थीको लागि ५० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न २ सय ११ सदस्यीय महोत्सव मूलआयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव तथा प्रदर्शनीले निर्माण व्यवसायसँगै यसक्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पु¥याउने लक्ष्य संघको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*