आज देशभर सरस्वती पूजा र अक्षरारम्भ गरिँदै

साझाकुरा
२०८१ माघ २१, सोमबार १५:४३

हेटौंडा-आज सोमबार साना बाबुनानीहरुका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वतीपूजा, श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरुप सरस्वतीको पूजाआराधना गरी मनाईंदैछ । हेटौंडाका सबै संस्थागत विद्यालयले आफ्ना अभिभावकलाई विद्यालयमा सरस्वती पूजामा प्रसाद ग्रहण गर्न निम्ता दिने र ३ वर्ष उमेर पुगेका साना नानीबाबुलाई अक्षरारम्भका लागि भर्ना गर्न सूचना जारी गरेका छन् । सामुदायिक विद्यालयमा पनि सरस्वती पूजाको दिन ३ वर्ष पुगेका नानीबाबुलाई विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको पाइन्छ । नेपालभरिका सरस्वती मन्दिर, विद्याका केन्द्र विद्यालय, कलेजमा विद्यार्थीको जमघट रहन्छ ।

माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमीमा मकवानपुरका हरेक शैक्षिक संस्थाले विद्यार्थी भर्ना गर्ने सूचना जारी गरेका छन् । हिन्दू धर्मावलम्बीले यसदिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाउँदैछन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ भनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रुपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरुले तन्त्रसिद्धिका लागि तारादेवीका रुपमा पनि मान्दछन् ।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ‘सरस्वती कवच’को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञवल्क्य, कणवाद, पाणिनी आदिदेखि शंकराचार्य र सन्त तुलसीदाससम्मले आजकै दिन सिद्धि प्राप्त गरेको किम्बदन्ती छ । मकवानपुरको बकैया गाउँपालिका–४, स्थित महेन्द्र माध्यमिक विद्यालयले सरस्वती पूजाका दिन अक्षरारम्भ कार्यक्रममा बालबालिकालाई सहभागी गराउने उद्देश्यले घरदैलो कार्यक्रम संचालन गरेको छ । सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।

सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । सोही विश्वासका साथ बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा श्रद्धालुहरुको घुइँचो लाग्ने गरेको छ । नेपालका सरकारी विद्यालयमा कहीँ कतै सानो या ठुलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रुपमा हेर्ने गरिन्छ । जुनसुकै धर्ममा विश्वास राख्ने भए पनि विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रुपमा विद्यादेवी सरस्वतीलाई लिने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*