रेडियो मकवानपुरद्वारा अमर माविलाई सेनेटरी प्याड

हेटौंडा-हेटौंडा–१ चाइनाक्वाटरमा रहेको अमर माध्यमिक विद्यालयलाई रेडियो मकवानपुरले सेनेटरी प्याड सहयोग हस्तान्तरण गरेको छ । रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा आइतबार एक कार्यक्रमबीच विद्यालयलाई सेनेटरी प्याड सहयोग गरिएको हो । रेडियो मकवानपुरको वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अमर माविलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको हो । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरप्रवक्ता एवम् १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
महिला प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्ष महिला नै भएको विद्यालयका छात्राको सहजताका लागि सेनेटरी प्याड सहयोग गरिएको रेडियोका अध्यक्ष पराजुलीले बताए । ‘हामीले रेडियोको वार्षिकोत्सवअन्तर्गत माघ १६ गतेदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिरहेका छौं’, उनले भने, ‘महिला प्रधानाध्यापक र अध्यक्ष रहेको विद्यालयमा सेनेटरी प्याड सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’
वडाअध्यक्ष न्यौपानेले सामुदायिक रेडियोले सामाजिक उत्तरदायित्व वहन गर्दै सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने गरेकोमा प्रशंसा गरे । मिडिया संकटमा रहेको अवस्थामा पनि सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिनु कठिन विषय भएको उनको भनाई थियो । रेडियोले सहयोग गरेको सेनेटरी प्याडका कारण विद्यालयका छात्रालाई महिनावारीको समयमा सहज हुने उनको विश्वास थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मालती उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जानुका गिरी, सहायक प्रधानाध्यापक डिबी बर्तौलालगायतको आतिथ्यता रहेको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार मिडिया कप फुट्सल प्रतियोगिता रहेको छ । २२ गते सप्ताहव्यापी कार्यक्रमको समापन एवम् सामुदायिक सम्मान कार्यक्रम रहेको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिए ।