भीरबाट लडेर एकको मृत्यु, एक घाइते
हेटौंडा-मकवानपुरको राक्सिराङ गाउँपालिका–४, जैसिङतालस्थित सचत्री सडकखण्डमा रहेको करङभीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–३, ठुलोदेवली बस्ने वर्ष ४२ को राजकपुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायवउपरीक्षक अर्यालका अनुसार, शनिबार राति ९ बजेको समयमा यो बाटोबाट अन्दाजी ७० मिटर तल भिरमा खस्नगई उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो ।
उनको अस्पतालमा उपचारको क्रममा आइतबार बिहान सवा १ बजेको समयमा मृत्यु भएको प्रहरी नायवउपरीक्षक अर्यालले बताए । मृतक चौधरीको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी मकवानपुरको कैलाश गाउँपालिकाकी ३७ वर्षीया माइलीमाया घलान भिरबाट लडेर गम्भीर घाइते भएकी छिन् । आइतबार बिहान ९ बजेको समयमा कैलाश गाउँपालिका–९, दमारढुंगाकी माइलीमाया घरबाट उत्तरतर्फको भिरमा घाँस काट्ने क्रममा १५० मिटर तल खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेकी माइलीमायाको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।







