बागमती प्रदेशमा एचपीभी खोप अभियान शुभारम्भ
हेटौंडा- बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान शुभारम्भ भएको छ । प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गर्दै खोप अभियानको शुभारम्भ गरेका हुन् । सो क्रममा मुख्यमन्त्री लामाले अझै पनि महिलाले समस्या लुकाएर बस्ने गरेको बताए । विशेषगरी दुर्गम भेगका महिलाले समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बस्ने गरेको भन्दै मुख्यमन्त्री लामाले स्वास्थ्य समस्यालाई लाजको विषय नबनाउन आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौंडा उपमहानगरप्रमुख मीना लामा लगायतको सहभागिता रहेको थियो । अभियानअन्तर्गत बागमती प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २ लाख ९८ हजार तीनसय पाँच जना किशोरीलाई खोप दिइने लक्ष्य रहेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।
निर्देशनालयका अनुसार, खोप अभियानअन्तर्गतका विद्यालयभित्र रहेका २ लाख ७५ हजार ७१ किशोरी र विद्यालय बाहिर रहेका २३ हजार २ सय ३४ जना किशोरीलाई खोप लगाउने तयारी रहेको छ । अभियान आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । खोप अभियानका लागि बागमती प्रदेशमा ४ हजार ५ सय ७९ खोप केन्द्र तोकिएको छ भने ४ हजार ३ सय २४ स्वास्थ्यकर्मीका साथै ८ हजार ७ सय ३६ स्वयंसेवक परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।







