सगरमाथा आरोही कार्की र प्रअ उप्रेतीलाई सामुदायिक सम्मान

साझाकुरा
२०८१ माघ २३, बुधबार ११:२८

हेटौंडा- मकवानपुरकै एकमात्र सगरमाथा आरोही विक्रम कार्की र अमर माविकी प्रधानाध्यापक मालती उप्रेतीलाई सामुदायिक सम्मान प्रदान गरिएको छ । रेडियो मकवानपुरको १५ औँ वार्षिकोत्सवको समापनका क्रममा मंगलवार बकैया–४ का कार्कीलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नगद १० हजार रुपैयाँसहित दोसल्ला रसम्मान पत्रले सम्मान गरे ।कार्कीले सगरमाथासहित नेपालको ३० वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।

सगरमाथा आरोही कार्कीले आफ्नै जिल्लामा सम्मानित हुनपाउँदा खुशी लागेको बताए । ‘हिमालको आरोहण गर्नु आफैँमा चुनौतीपूर्ण काम हो, आफ्नै सोखले सगरमाथासहित ३० वटा हिमालको आरोहण गरेको हुँ’, उनले भने, ‘मसँगै सगरमाथा आरोहणको यात्रामा निस्किएका नजिकको साथी समेत गुमाएँ । मकवानपुरकै पहिलो सगरमाथा आरोही हुन पाएकोमा खुशी छु’ उनले भने ।

अमर मावि हेटौडाको शैक्षिकस्तर सुधार गरी उत्कृष्ट महिला प्रधानाध्यापकको रुपमा स्थापित मालती उप्रेतीलाई पनि सामुदायिक सम्मान प्रदान गरिएको छ । हेटौंडा–१ की प्रअ उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री लामासँगै बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली लगायतले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरे । सम्मानित व्यक्तित्व प्रधानाध्यापक उप्रेतीले रेडियोले सम्मानका लागि योग्य ठानेकोमा खुशी लागेको प्रतिक्रिया दिइन् ।

‘विगत ३ दशकदेखि शिक्षण पेसामा छु । केही वर्षदेखि हेटौँडाको अमर माविको प्रधानाध्यापक भएर काम गरिरहेको छु । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सक्दो काम गरिरहेको छु’, उनले भनिन् । यस्तै रेडियोले उत्कृष्ट कर्मचारीको रुपमा प्राविधिक शाखाप्रमुख एनिस लुइँटेललाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*