मकवानपुरगढीको सरङपुर पुललाई १३ करोडको स्रोत सहमति
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाको सरङपुर तल्लोछाप पक्की पुल निर्माणको लागि अर्थ मन्त्रालयबाट १३ करोड २ लाख १२ हजार बराबरको बहुबर्षीय स्रोत सहमति प्राप्त भएको छ ।सत्तारुढ दलका मुख्य सचेतक महेशकुमार बर्तौलाको पहलमा सामरी खोलास्थित सरङपुर तल्लोछापमा पक्की पुल बन्ने सुनिश्चित भएको हो । बर्तौलाको स्वकीयसचिव आशिष अस्लामीले बताए अनुसार चालु आवमा संघीय सहरी विकास मन्त्रालयबाट यस पुल निर्माणको लागि जम्मा ८५ लाख बजेट विनियोजन भएको थियो ।
उनले भने–‘बिनियोजित बजेटले पुल निर्माणको प्रकृया अगाडि बढाउनको लागि अर्थ मन्त्रालयबाट बहुबर्षीय स्रोत सहमति लिनुपर्ने थियो । माननीयज्यूले माननीय अर्थमन्त्रीज्यूसँग समन्वय गरी फिल्डको आवश्यकताबारे बताउनुभई स्रोत सहमती प्राप्त भएको हो ।अब छिटै स्थानीय पूर्वाधार विकास कार्यालय, हेटौंडा मार्फत ठेक्का आह्वान हुनेछ ।” यो पुलको अध्ययन तथा डिपिआर निर्माण मकवानपुरगढीको पूर्वअध्यक्ष विदुर हुमागाईको पालामा भएको थियो ।
पूर्वअध्यक्ष हुमागाईका अनुसार पुल बासुदेव राजमार्ग र गैरीभन्ज्याङ–सुकौरा हुँदै कान्तिलोकपथ जोड्नका लागि हो । यसको निर्माण पश्चात् हेटौंडासहितसाविकमकवानपुरगढी, आमभन्ज्याङ, सुकौरा, बुढीचौरलगायतका आममानिस र हेटौंडा काठमाडौं यात्रा गर्ने यात्रुलाई प्रत्यक्ष लाभ पुग्नेछ । साथै कृषिउपज उत्पादनलाई बजारीकरण गर्न र विद्यालय आवतजावत गर्ने विद्यार्थीलाई ठुलो मद्धत मिल्नेछ ।







