रोग लुकाएर राख्नु भन्दा उपचारमा लाग्नु उपयुक्तः मुख्यमन्त्री लामा
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर रोग चुनौतीका रुपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा नै स्वास्थ्य संस्थामा गएर उपचार गराउन महिला दिदीबहिनीमा आग्रह गरेका छन् ।उनले रोगको सुरुवातमा नै उपचार गरेर निर्मूल गर्नुपर्नेमा जोड दिए । मंगलवार मकवानपुरको हेटौंडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नेपालमा बर्सेनि हजारौँ महिला पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भइरहेकाले रोग लुकाएर राख्नु भन्दा उपचारमा लाग्नु उपयुक्त हुने भनाई राखे ।
नेपालमा दैनिक ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट मृत्युवरण गर्नुपर्ने अवस्था रहेको बताउँदै भयावह अवस्थालाई नियन्त्रण गर्न तीनतहको सरकारको समन्वयमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु गरिएको उनको भनाई थियो । यो खोपबाट दैनिक ४ जना महिलाो मृत्यु हुने दरलाई नियन्त्रण गर्न सकिन्छ भन्दै उनले महिलाहरु आफूलाई भएको समस्या लुकाएर राख्ने अवस्थाले पीडामा रहेको बताए ।
मुख्यमन्त्री लामाका अनुसार पछिल्लो समय क्यान्सर प्राणघातक रोगसँगै आर्थिकरुपले पनि जटिल बनिरहेको छ । क्यान्सरको उपचारमा भन्दा पनि सहायक रोगको व्यवस्थापनमा बढी खर्च हुने गरेको उनले बताए । कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपालमा नसर्ने रोगबाट मृत्यु हुने दर बढ्दो रहेको बताए । उनले ७० प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु भइरहेको बताउँदै नसर्ने रोगको क्षति रोक्नुपर्ने चुनौती रहेको बताए ।







