हेटौंडामा दैनिक साढे ३ करोड लिटर खानेपानी उत्पादन

साझाकुरा
२०८१ माघ २४, बिहीबार ११:३४

हेटौंडा- हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरेर उपभोक्तालाई वितरण गर्दै आएको छ ।उपमहानगरक्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीमा २८ हजार १ सय १२ वटा धारामार्फत ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । हेटौंडाको मुख्य बजारक्षेत्रमा भने २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको छ । बोर्डमा हालसम्म १६ वटा खानेपानी उपभोक्ता समिति हस्तान्तरण भइसकेको छन् ।

नगरक्षेत्रभित्रको वडा नं. ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिबाट खानेपानी वितरणकार्य हुँदै आएको छ । उपमहानगरपालिकाले नगरबासीलाई सहयोग पु¥याउने उद्देश्यले २०७९ साल भदौ महिनादेखि न्यूनतम १० हजार लिटर पानी महसुल निःशुल्क गर्दै आएको छ । जसको कारणले १० हजार लिटर मात्र खानेपानी खपत गर्ने उपभोक्ता लाभान्वित भएका छन् । बोर्डले आफ्नै स्रोतबाट नगरक्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्यूवेल निर्माण कार्य सम्पन्न गरेको छ ।

मकवानपुरगढी गाउँपालिकामा ३ वटा, भीमफेदी गाउँपालिकामा २ र हेटौंडा–९ मा एक गरी ६ थान समवेल निर्माणकार्य आफ्नै स्रोतमार्फत् सम्पन्न गरेको अध्यक्ष बिष्टले बताए । विभिन्न१२ स्थानमा पम्प तथा पालेघर निर्माणकार्य सम्पन्न गरेको अध्यक्ष विष्टले बताए । बोर्डले करिब ४ सय किलोमिटर मेन तथा शाखा पाइपलाइन विस्तारकार्य सम्पन्न गरेको छ ।

संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र बोर्डको सह लगानीमा करिब १५ करोडको लागतमा ओभरहेड पानी टंकी एउटा, भूमिगत पानी टंकी तीनवटा, डिप बोरिङ ४ वटा, मेन तथा शाखा पाइपलाइन विस्तार गरेको अध्यक्ष विष्टले बताए । संघीय सरकारको करिब ८ करोडको लगानीमा हेटौंडा–१९ बस्तीपुरमा डिप बोरिङ, ओभर हेड पानी टंकी, कार्यालय भवन तथा पालेघर निर्माण, मेन तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणकार्य अन्तर्गत अपुरो रहेको योजना सम्पन्न गर्न बोर्डबाट करिब ३ करोड रुपैयाँ लगानी गरी योजना निर्माणकार्य सम्पन्न गरेपश्चात् यो क्षेत्रमा सेवा सुचारु गरिएको छ ।

बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौंडा–१९ बस्तीपुरमा समवेत निर्माण, हेटौंडा–१६ मा डिप ट्यूवेल, त्रिशूलेमा ५ लाख लिटर क्षमताको भूमिगत पानी टंकी निर्माणकार्य र करिब २० कि.मि. मेन तथा शाखा पाइपलाइन बिस्तारकार्य सम्पन्न गरिएको छ । हालसम्म बोर्डमा हेटौंडा–३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट खानेपानीको पूर्वाधारसहित ९ हजार ५ सय धारा हस्तान्तरण भई आएको अध्यक्ष बिष्टले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*