ईभीमय बन्दै हेटौंडा–काठमाडौं रुट
हेटौंडा-हेटौंडा–काठमाडौं बैकल्पिक सडकखण्डमा चल्ने साना सवारीको रुपमा रहेको टाटासुमो बिस्थापनको शिकार भएका छन् । पछिल्ला दिनमा ईभीले बजार लिन थालेपछि टाटासुमो बिस्थापनमा पर्दै गएको हो ।बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म चल्ने गरी एकैसाथ ३० वटा विद्युतीय माइक्रो भ्यान संचालनमा आएको छ । यातायात ब्यवसायीको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवसायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो भ्यान हस्तान्तरण गरेपछि यो रुटमा संचालन गर्न थालिएको हो ।
बाराको पथलैयामा आयोजित समारोहमा गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्धनिर्देशक सन्तोष खतिवडाले बिक्रीपछिको सर्भिसलाई सहज बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको बताए । खतिवडाले विद्युतीय सवारी वातावरणमैत्री मात्र नभएर यात्रु र ब्यवसायीमैत्री पनि रहेको भन्दै ब्यवसायीलाई आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता ब्यक्त गरे ।
जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्बिकल्प रहेको भन्दै ब्यवसायीलाई सफलताको शुभकामना दिए । उनले भने, ‘इभी गाडीले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातलाई प्रोत्साहित गर्नेछ, जुन देशको आवश्यकता हो ।’ आजैदेखि सेवाको सुरुवात भएको जानकारी दिंदै ब्यवसायीले यात्रुको सुविधा र गुणस्तरीय सेवा प्राथमिकतामा राख्न आग्रह गरे । इन्धनखर्च बचत हुनाले विद्युतीय गाडी दीर्घकालीन रुपमा ब्यवसायीको हितमा रहने उनीहरुको विश्वास थियो ।







