पदमपोखरीमा साँस्कृतिक महोत्सव हुने
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ मा प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । महोत्सव हेटौंडा–१३ वडा कार्यालयको आयोजनामा हुन लागेको हो ।महोत्सव मूल समारोह समितिले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । सम्मेलनमा महोत्सव समारोह समितिका संयोजक रन्जु गोम्बाले आगामी फागुन ४, ५ र ६ गते गरी तीनदिने महोत्सव आयोजना गर्न लागेको जानकारी दिइन् । ‘संस्कार, सँस्कृति एवम् कला र साहित्यको जगेर्ना गरौं, स्थानीय व्यापार कृषिउपज उत्पादनलाई प्रबद्र्धन गरौं’ भन्ने मूलनाराका साथ महोत्सवको आयोजना गर्न लागिएको समितिका संयोजक गोम्बाले बताइन् । उनका अनुसार कार्यक्रम पदमपोखरीस्थित लोकतान्त्रिकचोकमा हुनेछ ।
पदमपोखरीको पहिचानलाई उचाईमा उठाउन आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामाले जानकारी दिए । महोत्सवले उत्पादन र बजारीकरणको अवधाराणाको विकास, स्थानीय व्यापार, कृषिउपज उत्पादनलाई प्रबद्र्धन गर्न र वडाबासीको आर्थिकस्थितिलाई माथि उठाउन सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष लामाले बताए ।महोत्सवमा स्थानीय परम्परागत उपभोग्य कृषिउपज सामग्री, आधुनिक सीपमा विभिन्न सामान उत्पादन, बाँस जन्य सामग्री, खानाका विभिन्न परिकार गरी ८० वटा स्टल रहने वडाध्यक्ष लामाले बताए ।
उनले स्टलमा मदिराजन्य पदार्थ राख्न तथा बिक्री गर्न विशेष रोक लगाइने बताए । उनका अनुसार, ८० स्टलमध्ये २६ वटा टोल विकास समूह र चारवटा विभिन्न संघसंस्था गरी ३० वटा स्टल निःशुल्क दिइनेछ । बाँकी अन्य स्टलको भने तीन दिनको पाँच हजार शुल्क लिइनेछ ।वडाध्यक्ष लामाले महोत्सवमा १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । महोत्सवमा नेपाली राष्ट्रिय मौलिकतालाई झल्कने गरी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने कला संयोजक धिरेन लामाले जानकारी दिए । महोत्सवमा कलाकार रोज मोक्तान, प्रिती आलेमगर, टीका बोम्जन, प्रकाश तितुङ, साम्तेन मोक्तान, बिक्रम लुङ्वालगायत स्थानीय ब्याण्ड, कलाकारले प्रस्तुती दिने उनले बताए ।







