चाडपर्वको संरक्षणमा बागमती सरकारको प्रतिबद्धता

साझाकुरा
२०८१ माघ २५, शुक्रबार ११:०८

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चाडपर्वको संरक्षण गरिने बताएका छन् ।बिहीवार नेपाल माझी उत्थान संघ केन्द्रीय समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माझी जातिको प्रमुख चाडका रुपमा रहेको लदी (कोशी) पूजाको दिन सार्वजनिक बिदा माग गर्दै ज्ञापनपत्र बुझाउन आएको टोलीसँग उनले सबै भाषा, धर्म र चाडपर्वको आफ्नै महत्व रहेको बताए । मुख्यमन्त्री लामाले यहाँ बसोवास गर्ने विभिन्न जातजातिमध्ये माझी जातिको छुट्टै भाषा, धर्म र संस्कार संस्कृति भएको उल्लेख गर्दै बिदाको सन्दर्भमा सल्लाह गरेर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रत्येक वर्षको फागुनको साइली मंगलबार पर्ने लदी (कोशी) पूजा यस वर्ष आगामी फागुन २० गते परेको छ ।

नेपाल माझी उत्थान संघ केन्द्रीय अध्यक्ष चिनीमाया माझी नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष माझीले मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउदै देश संघीय संरचनामा रहेको सन्दर्भमा प्रदेश सरकारले माझी समुदायको मागलाई सम्बोधन गरिदिन अनुरोध गरे । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा एक लाख एघार हजार ३५२ जनसंख्या माझीको रहेको छ । नेपालमा रहेका माझीको कुल जनसंख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४१ हजार ६७१ अर्थात कुल जनसंख्याको ३७.४२ प्रतिशत रहेको विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*