हेटौंडाको फोहोर संकलन र व्यवस्थापन कार्य स्थगन
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रबाट फोहोर संकलन गर्दै राप्ती किनारमा लगेर फोहोरको व्यवस्थापन गर्ने कार्य हाललाई स्थगन गरेको छ ।उच्चअदालत पाटन हेटौंडा इजलासले हेटौंडा–१० राप्तीतटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न र फोहोर फाल्न नलगाउन हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएपछि संकलन र व्यवस्थापन कार्यमा रोक लागेको हो । योगेन्द्रप्रसाद उपाध्यायले हेटौंडा उपमहानगरपालिकालाई विपक्षी बनाएर दायर गरेको निषेधाज्ञा मुद्दामा न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले २२ माघमा राप्तीतटमा फोहोर फाल्न रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
‘हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिर भन्दा दक्षिणतर्फ राप्तीखोलाको तटमा फोहोर नफाल्नु, फोहोर फाल्न नलगाउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’ आदेशमा भनिएको छ । दुवै पक्षलाई २९ माघमा छलफलका लागि बोलाइएको छ । हेटौंडामा विगत लामो समयदेखि निजी संस्था ग्रिन एण्ड क्लीन सिटि सभिर्सेज प्रालिमार्फत फोहोरको नियमित संकलन तथा हेटौंडा–१० राप्तीतटमा डम्पिङ साइट बनाएर फोहोरको व्यवस्थापन हुँदै आएको थियो ।
केही दिन अगाडि डम्पिङ साइटमा आगलागी भएर प्रदुषणले हेटौंडा–१० र ११ नम्बर वडाबासी प्रभावित बनेपछि विषय अदालतसम्म पुगेको हो । स्थानीयले डम्पिङ साइटमा पटक–पटक आगलागी गराएर नागरिकको स्वास्थ्य संवेदनशीलतामा ध्यान नदिएको गुनासो गर्दै आएका छन् । चितवनको भरतपुर महानगर, रत्ननगर नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको संयुक्त डम्पिङ साइट निर्माण गर्ने विषयमा पनि अध्ययन भएको थियो । तर, यो अध्ययनको फाइल सार्वजनिक हुन सकेको छैन ।







