देखिने काम गर्न मन्त्री महर्जनको निर्देशन
हेटौंडा- बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मन्त्रालय र मातहतका निकायलाई आसपी समन्वय बढाउँदै जनमुखी र परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।मन्त्रालय मातहतका परिषद्हरुको आर्थिक वर्ष २०८१÷८२ को योजना तथा कार्यक्रमकोे समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एकजुट भएर काम गर्दा उत्कृष्ट नतिजा निकाल्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने भन्दै आसपी समन्वय बढाउनुपर्नेमा जोड दिए । उनले जनताले सेवाको गुणस्तर अनुभूति गर्नका लागि सेवाप्रक्रिया र वितरणमा सुधार ल्याउँदै कागजी कारबाहीलाई सरल एवम् पारदर्शी बनाउनुपर्ने बताए ।
उनले कर्मचारीको कार्य प्रदर्शनको मूल्यांकन गरी उचित प्रोत्साहन दिइने बताए । उनले प्रदेश खेलकुद विकास परिषद् र युवा परिषद्ले सञ्चालन गर्दै आइरहेको आयोजनालाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता जनाउँदै कार्यालय प्रमुखहरुलाई उच्चमनोबलसहित काम गर्न निर्देशन दिए । देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्ययोजना बमोजिम नतिजा हासिल गर्नेतर्फ अग्रसर हुन उनले निर्देशन दिएका छन् ।मन्त्री महर्जनले प्रभावकारी रुपमा कार्यसम्पादन गर्न तथा उपयुक्त ढंगका योजनाहरु तयार गर्नसमेत निर्देशन दिए ।
उनले आफ्नो कार्यकालमा युवा तथा खेलकुद क्षेत्रको समग्र विकास, विस्तार र प्रवद्र्धन गर्दै युवा र खेलाडीको भावना अनुसार उल्लेखनीय काम हुने भन्दै त्यसमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरे । बैठकमा मन्त्रालयका सचिव केशवराज सुवेदी र परिषद्का सदस्यसचिव दीपक लामा र खेलविज्ञ दीपक श्रेष्ठले मन्त्रालय र परिषद्हरुको प्रगतिका साथै आयोजनाकोे वित्तीय एवम् भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासबारे चासो व्यक्त गरेका थिए ।
बैठकमा प्रदेश युवा परिषद्का कार्यालयप्रमुख रमेश घिमिरे, प्रदेश खेलकुद विकास परिषद्का कार्यालयप्रमुख बद्रीबहादुर पाठक र मन्त्रालयका प्रवक्ता सूर्यबहादुर दाहालले आर्थिक वर्ष २०८१÷८२ पुष मसान्तसम्म भएका काम कारबाही, बजेटखर्चको अवस्था, सञ्चालन भइरहेका आयोजना तथा समग्र गतिविधिको विषयमा जानकारी गराएका थिए ।







