‘खानेपानी सम्बन्धि ऐन ल्याउँदै बागमती सरकार’

साझाकुरा
२०८१ माघ २६, शनिबार ०८:५२

हेटौंडा- बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले प्रदेश सरकारले खानेपानी सम्बन्धि ऐन ल्याउने तयारी गरेको बताएका छन् ।उपभोक्तामा खानेपानी वितरणलगायतका काम गर्दै आइरहेका उपभोक्ता समितिहरुलाई नियमनको लागि ऐन ल्याउन लागेको उनको भनाई छ । वाटर एड नेपालसँगको सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजनामा शुक्रबार हेटौँडामा भएको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री खड्काले संघीय सरकारले बनाएको ऐन संग नबाझिने गरी प्रदेशसरकारले ऐन बनाउने बताए ।

ऐनको ड्राफ्ट अन्तिम चरणमा रहेको र प्रदेशसभाको चालु अधिवेशनमै ऐनलाई पेश गर्ने तयारीमा प्रदेश सरकार रहेको उनले जानकारी दिए । मन्त्री खड्काले संघीयताको कार्यान्वयन पश्चात् प्रदेश सरकार मातहात आएका खानेपानी कार्यालयहरुको कार्ययोजनालाई व्यवस्थित गरिने समेत उल्लेख गरे । उपभोक्ता समितिहरुलाई महासंघले पनि विधान बनाएर नियमन गर्नुपर्नेमा उनको जोड छ । कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य भारती पाठकले जलवायु परिवर्तंनको प्रत्यक्ष असर महिलाहरुमा पर्न गएको बताए ।

वन, वातावरण, जलको नजिक सम्बन्धको भएपनि जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दै गएको उनले उल्लेख गरिन् । जसको असर विशेष गरी ग्रामीण भेगका महिलाहरुमा परेको उनको भनाई छ । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले देशभरमा ४३ हजार उपभोक्ता समिति रहेको पनि महिलाले नेतृत्व गरेका समिति निकै न्यून मात्रामा रहेको बताए ।

खानेपानी क्षेत्रमा प्रमुख उपस्थिति महिलाको रहने भएकाले नेतृत्व र निर्णायक तहमा पनि महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने उनको भनाई थियो । खानेपानी संस्थानका अध्यक्ष राजेन्द्र अर्याल, खानेपानी मन्त्रालयका सचिव मोहनकुमार शाक्यलगायतले नेतृत्व तहमा महिला सहभागिता बढ्दा समुदायमा सकारात्मक सोचको विकास हुनुको साथै योजना कार्यान्वयनमा पारदर्शिता देखिने धारणा राखे । ३३ प्रतिशतबाट बढाएर महिला सहभागिता ५० प्रतिशत पुराउन नीतिगत सुधार आवश्यक रहेको सहभागीहरुले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*