हेटौंडाको १४ नम्बर वडा बालमैत्री घोषणा

साझाकुरा
२०८१ माघ २६, शनिबार ०८:५५

हेटौंडा- हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडाको रुपमा घोषणा गरिएको छ । हेटौंडा–१४, स्थित भुकुटी माध्यमिक विद्यालयमा भएकोकार्यक्रममा वडालाई नगर प्रमुख मिनाकुमारी लामाले बालमैत्री घोषणा गरिन् ।लामाले बालमैत्री घोषणालाई दिगो रुपमा सार्थकता दिने गरी काम गर्न अनुरोध गरिन् । १४ नम्वर वडाध्यक्ष दिपक खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, जनप्रतिनिधि, विद्यार्थी, शिक्षकलगायत विभिन्न संघसंस्थाको प्रतिनिधीहरुको उपस्तिथि रहेको थियो । १४ नम्वर वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्षभन्दा कम उमेर समूहका २ हजार ४ सय ९४ जना बालबालिका छन् । जसमा १ हजार २ सय ६७ बालक र १ हजार २ सय २७ बालिका रहेका छन् ।

१४ नम्बर वडामा सामुदायिक, संस्थागत र बाल विकास केन्द्रसहितका ६ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । समुदायस्तरमा २२ वटा बाल समूह, १ वडा बाल सञ्जाल रहेको छ । जसमा ५ सय ५० जना बालबालिकाहरु आबद्ध रहेका छन् । विभिन्न संरचनात्मक समितिहरुमा समेत गरी ५ सय ७० जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ । यो अभियानमा १२ वटा बाल विवाहरोकिएको वडा अध्यक्ष खड्काले जनाए । विभिन्न बाल श्रमिकको उद्वार गरी पारिवारिक मिलन समेत गरिएको छ ।

१४ नम्बर वडालाई यसअघि पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ । वडाको कुल क्षेत्रफल १६ दशमलव ३२ वर्ग किलोमिटर रहेको छ । यस वडाको पूर्वी सिमाना हेटौंडा–१५, पश्चिम सिमाना हेटौंडा–१३, उत्तर सिमाना हेटौंडा–९ र दक्षिण सिमाना पर्सा राष्ट्रिय निकुञ्ज पर्दछ । यस वडाका अधिकाशं भागहरु ग्रामीण स्तरका छन् ।

१४ नम्बर वडा घोषणासँगै हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषित भएको छ । सबै वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री घोषणा र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले तोकेका ५१ वटा सूचक पूरा गरेर बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित गरेको हो । हेटौंडा उपमहानगरको १९ वटा वडा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*