स्वास्थ्य प्रतिष्ठानलाई ‘एमडिजिपी’मा एक सिट मात्र
हेटौंडा-निजी स्वास्थ्य संस्थालाई उल्लेख्य सिट उपलब्ध गराएको चिकित्सा शिक्षा आयोगले स्नाकोत्तर तह अध्ययन कोटामा हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सिट मात्रै दिएको छ ।आयोगले बागमती प्रदेश सरकारले प्राथकितामा राखेको प्रतिष्ठानलाई जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन (एमडिजिपी)मा एक सिट मात्र उपलब्ध गराएको हो । प्रदेश सरकारले संघीय सरकारलाई आर्थिक भार नपर्ने गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन व्यवस्थापन गरिरहेको छ । प्रतिष्ठानले आयोगले तोकेको मापदण्ड भित्र रहेर विभिन्न ९ वटा विषयमा १८ वटा सिट माग गरेको थियो ।
आयोगबाट अनुगमनका लागि गएको विज्ञ टोलीले पनि प्रतिष्ठानको निरीक्षणपछि कक्षा सञ्चालन अनुमती दिन उपयुक्त रहेको सिफारिस गरेको थियो । तर आयोगले भने ९ वटा विषयमध्ये जम्मा एउटा विषयमा एकजना मात्र पढ्न मिल्ने गरी प्रतिष्ठानलाई सिट संख्या तोकेको छ । पिजी प्रोग्राम सञ्चालनका लागि थप ३८ जा प्राध्यापक नियुक्ती गरिएको प्रतिष्ठानका रजिष्ट्रार भीम सागर गुरागाईले बताए ।
प्रतिष्ठानले अब्सटेट्रिक्स एन्ड गाइनो, इन्टर्नल मेडिसिन, जेनेरल सर्जरी, एमडिजीपी, पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, फार्माकोलोजी÷क्लिनिकल फार्माकोलोजी, अर्थोपेडिक्स, अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी र पेरिडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजीका लागि सिट माग गरेको उपकुलपति डाक्टर प्रदीप ज्ञवालीले जानकारी दिए । प्रतिष्ठानमा बिएससी नर्सिङ, बिपीएच, ब्याचलर ईन फार्मेसी र बिएम एल टी गरी ४ वटा विषय अध्ययन अध्यापन भइरहेको छ । प्रतिष्ठानमा सिट संख्या कम तोकेको विषयमा नेपाल चिकित्सक संघले खेद प्रकट गरेको छ ।
प्रतिष्ठान मातहत रहेको हेटौंडा अस्पतालमा दैनिक १५ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौंडा अस्पतालको पूर्वाधार विकासका लागि एकअर्ब ३१ करोड रुपैयाँ लगानी भईसकेको छ ।अस्पतालले थप २ सय शैया सञ्चालन गर्न मिल्नेगरी पूर्वाधार विकास गरेको छ । बागमती प्रदेश सरकारले प्रतिष्ठान सञ्चालनका लागि वार्षिक २४ करोड रुपैयाँ लगानी गरिरहेको छ । हाल ३ सय ५० विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानमा ४२ जना प्राध्यापक कार्यरत छन् ।







