प्रहरी चौकी चैनपुरका लागि जग्गा दान

साझाकुरा
२०८१ माघ २६, शनिबार ०८:५९

हेटौंडा- मकवानपुरको विगट राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरका लागि एक स्थानीय परिवारले जग्गा सहयोग गरेका छन् ।स्थानीय साइँली माया मुक्तान र उनका श्रीमान धनबहादुर मुक्तानले वडा नम्बर ५ स्थित बाङदेराग भन्ने स्थानमा रहेको आफ्नो व्यक्तिगत नामको २ कठा १८ धुर जग्गा बिहीबार चौकीको नाममा पास गराई हस्तान्तरण गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिने प्रहरीहरुलाई काम गर्न सहजताका लागि मुक्तान परिवारले जग्गा दान स्वरुप सहयोग गरेकोमा प्रमुख खड्काले धन्यवाद ज्ञापन गरे ।

जग्गा हस्तान्तरण पछि मुक्तान परिवारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले धन्यवाद सहित सम्मान गरेको छ । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गतौला, प्रहरी चौकी चैनपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक शंकर यादवको पहलमा उपलब्ध भएको उक्त जग्गा अहिलेको चलनचल्तीमा करिब २० लाख रुपैयाँ पर्न आउने उनले बताए ।

मकवानपुरको प्रहरी युनिट रहेका ठाउँ नामटार, राईगाँउ लगायत विभिन्न स्थानमा जग्गा प्राप्तिको लागि पहल भइरहेको र चौकी निर्माणको प्रक्रिया अघि बढाइएको एसपी खड्काले जनाए । जग्गा प्राप्तिपछि नापी टोलीद्वारा जग्गा उपलब्ध नाप जाँच गराई भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*