कांग्रेसको नगरस्तरीय प्रशिक्षणः पार्टी र कार्यकर्ता विचारबट चल्नुपर्ने डीनाको जोड
हेटौंडा- नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले पार्टी र कार्यकर्ता राजनीतिक विचारबाट चल्नुपर्नेमा जोड दिएकी छन् ।नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका समितिले हेटौंडा–१६ स्थित चिसापानीमा आइतबार आयोजना गरेको एक दिने नगरस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री डीनाले देशको समृद्धि कांग्रेसको विचार र स्पष्ट विकास नीतिले मात्र सम्भव भएको बताइन् । उनले पार्टीलाई चलायमान र गतिशील बनाउन पार्टीका पदाधिकारीहरु उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बताइन् । जसका लागि पार्टी र कार्यकर्तालाई नागरिकको विकास र जनजीवकासँग जोड्दै अगाडि बढ्नुपर्ने उनले बताएकी छन् ।
आफू माथि भएको अन्यायका विरुद्धमा सार्वजनिक रुपमा भन्दा पार्टीको आन्तरिक फोरममा आवाज उठाउनु पर्ने भन्दै सहमहामन्त्री डीनाने भनिन, ‘कुनै नेता र व्यक्तिलाई भन्दा पनि कांग्रेस पार्टीलाई बलियो र सशक्त बनाउनेतर्फ हामी लाग्नु पर्छ ।’ उनले पार्टीको विधानभन्दा बाहिर गएर पार्टी चलाउनु भनेको स्वार्थले चलाउनु रहेको जिकिर गरिन् । लोकतन्त्र र देशको विकासको लागि स्थापना भएको कांग्रेसको विचार कहिल्यै नमर्ने उनको भनाई छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले समसामयिक राजनीतिक अवस्थाका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टीका कार्यकर्ता र नेताले आफूलाई भन्दा पार्टीलाई केन्द्रमा राखेर संगठन निर्माणगर्नुपर्ने बताए । पार्टीको संगठन, कार्यकर्ता र नेताको आचरण,विचार र सिद्धान्तलगायतकाबारेमा प्रशिक्षण दिएका विश्वकर्माले कार्यकर्तालाई निराशा छाडेर कांग्रेसको नेतृत्वमा समृद्धि सम्भव छ भन्ने भावनाका साथ काम गर्न आग्रह गरे ।
कांग्रेस हेटौंडा उपमहानगर समितिका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, कांग्रेस नेता आनन्दराम पराजुली, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनाल र कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनीलेकांग्रेस कार्यकर्ताले पार्टी संगठनमा निर्वाह गर्नुपर्ने भूमिका बारेमा आफ्नो धारणा राखेका थिए ।पार्टी प्रशिक्षण कार्यक्रममा कांग्रेसको हेटौंडा उपमहानगर समितिका पदाधिकारी तथा सदस्य, १९ वटै वडाका पार्टी वडा सभापति तथा पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्यलगायतको सहभागिता रहेको थियो ।







