ज्येष्ठ नागरिक भवन बनाउन महायज्ञ गरिने
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६, स्थित शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म महायज्ञ गरिने भएको शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालले जानकारी दिए । अध्यक्ष धितालको संयोजकत्वमा एकसय ९५ मूल समारोह समिति गठन भएको छ । हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले स्थानीय तहबाट सहयोग गर्न तत्पर रहेको बताए ।
राम अधिकारीसहितको सचिवालय उपसमिति, पूर्णभद्र चौलागाईंसहितको आर्थिक उपसमिति, रुपेश दुलालसहितको प्रचारप्रसार उपसमिति, अर्जुनप्रसाद चौलागाईंसहितको जनसम्पर्क उपसमिति, केशव धितालसहितको अतिथि सत्कार उपसमिति, विष्णुप्रसाद सापकोटासहितको सरसफाई उपसमिति, रञ्जिता भेटवालसहितको प्रसाद वितरण उपसमिति र रामप्रसाद सापकोटा सहितको भान्सा व्यवस्थापन उपसमिति गठन भएको छ ।
कार्यक्रममा राप्रपाका ६ नम्बर वडा अध्यक्ष केदारबहादुर राई, प्रदेश दुग्ध विकास बोर्डका सदस्य बासुदेव सापकोटा, टोल विकास संस्था हेटौंडा–६ नम्बर वडा समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडा, रेसुंगा युवा क्लवका अध्यक्ष श्रीराम खतिवडा, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारीलगायतले आफ्नो धारणा राखेका थिए ।







