त्रिखण्डी नजिकै ग्यास बुलेट पल्टिएपछि सडक एकतर्फी सञ्चालनमा
हेटौंडा- हेटौंडा–भैंसे सडक सोमबार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडक खण्डको भैँसे त्रिखण्डी नजिकै एनएल ०१ के ११९७ भारतीय नम्बरको १२ चक्के ग्यास बुलेट गाडी आइतबार राति ९ बजे सडक छेउमा पल्टिएको थियो ।बीच बाटोमै ग्यास बुलेट गाडी पल्टिका कारण त्रिभुवन राजपथ अवरुद्ध थियो । स्थानीय र प्रहरीको सक्रियतामा रातारात भित्ता काटेर ड्राइर्भसन बनाएर सोमबार बिहान एक बजेदेखि एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवम् प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
भारतीय ग्यास बुलेट गाडी हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ गइरहेको थियो । गाडी सडकको दाहिनेतर्फको भित्तामा पल्टिएकाले सडक अवरुद्ध भएको थियो । उक्त स्थान नजिकबाट नयाँ बाटो बनाएर एकतर्फी रुपमा आलोपालो गरी सवारी आवत–जावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । पल्टिएको ग्यास बुलेटलाई निकाल्ने प्रयास भइरहेको छ ।







