खुवा बेचेर मासिक लाख कमाइरहेका हेटौंडाका उत्तम

साझाकुरा
२०८१ माघ २९, मंगलवार ०९:३५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख रुपैयाँ कमाउँदै आएका छन् । उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् ।उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चेखोलामा उत्तम खुवाघर सञ्चालनमा छ । खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मिल सञ्चालन गर्थे। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनी बताउँछन् ।

उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुनेगर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देखेका उनले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानीसमेत गरेका छन् । ‘खुवाको लागि भैँसीको दूध आवश्यक पर्छ सोहीअनुरुप किसानलाई १० लाख रुपैयाँ लगानी गरिसकेको छु’ उनले भने ।

परम्पराभन्दा आधुनिकता तर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् । खुवाको हब बन्दै गएको चुच्चेखोलामा हेर्दा पनि आकर्षण तरिकाको पसल उनको छ । पर्यटकलाई सफा र आकर्षण देखिनुपर्छ सोही अनुरुप परिकारमा पनि सफा र स्वादिष्ट उत्पादन गर्ने गरेको उनको भनाइ छ ।खुवा पेसा सम्हालेदेखि उनले आफ्नो व्यवसायबाट ६ कर्मचारीलाई रोजगारी दिएको बताए ।

खुवासँगै खाजा नास्ता लगायतबाट मासिक १० लाख रुपैयाँको कारोबार हुने गरेको श्रेष्ठले बताए । मासिक दूध खरिद्, खुवा पकाउने दाउरा खरिद, कर्मचारी लगायतमा मासिक साढे आठ लाख खर्च हुने गरेको बताए । अरु पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ । आफूसँगै परिवारलाई पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए ।

खुवा बेचेरै मासिक एक लाख रुपैयाँ कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन लगायत जिल्लामा निर्यात हुने बताए । कान्तिलोकपथ भएर हिँडने यात्री र खुवाको पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आकर्षित गर्ने गरेको छ । खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*