त्रिभुवन राजपथ दुइतर्फी सुचारु
हेटौंडा- सोमबार ग्यास बुलेट दुर्घटना भएका कारण एकतर्फी मात्रै संचालनमारहेको त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–भैंसे सडकखण्ड मंगलबार अपरान्हदेखि दुईतर्फी सुचारु भएको छ ।हेटौंडाबाट भैँसेतर्फ ग्यास बोकेर जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के भारतीय बुलेट गाडी सोमबार भीमफेदी गाउँपालिका–१ त्रिखण्डी मन्दिर नजिकै दुर्घटना हुँदा बाटो एकतर्फी मात्रै सुचारु भएको थियो ।
ग्यास बुलेट मंगलबार दिउँसो साढे २ बजेको समयमा क्रेनको सहायताले उठाई बाटो दुबैतर्फ संचालनमा ल्याएको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ग्यास बुलेट उठाउने क्रममा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै केही समयका लागि हेटौंडा–भैंसे सडकखण्डमा सार्वजनिक सवारी रोकिएका थिए । प्रहरी नायवउपरीक्षक अर्यालका अनुसार, ग्यास बुलेट दुर्घटनामा परेर मानवीय क्षति भने भएको छैन ।
ग्यास बुलेट उठासकेपछि चितवनको भरतपुर महानगरपालिका–३, कमलनगर बस्ने वर्ष ३१ को रोशन थापा क्रेनबाट लडेर घाइते भएका छन् । घाइते थापाको मकवानपुर सहकारी अस्पताल हेटौंडामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरी नायवउपरीक्षक अर्यालले जानकारी दिएका छन् ।







