१३ केजी अफिम, १ लाख ३३ हजार रुपैयाँसहित मकवानपुरका २ जना प्रहरीको नियन्त्रणमा
हेटौंडा- मकवानपुरको मनहरीका एक र कैलाशका एक गरी दुइजनालाई लागूऔषध अफिमसहित बाराको पथलैयामा प्रहरीले पक्राउ गरेको छ । स्कुटीको डिक्कीभित्र लुकाईछिपाई लगिरहेको लागूऔषध अफिम र नगद १ लाख ३३ हजार ६५५ रुपैयाँ बरामद गरी २ जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । स्कुटीचालक मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने वर्ष ५४ को सूर्यबहादुर मोक्तान र स्कुटी पछाडि बस्ने कैलाश गाउँपालिका–८ बस्ने वर्ष ४५ को भीमबहादुर मोक्तान लागूऔषध अफिम र नगदसहित पक्राउ परेको बारा प्रहरीप्रवक्ता तथा प्रहरी नायवउपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
विशेष सूचनाको आधारमा मंगलबार बिहान ७ः३० बजेको समयमा प्रहरीचौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–१ पथलैयाचोकबाट दुईजनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ प १६१४ नम्बरको स्कुटीलाई रोक्न खोज्दा नरोकी फरार भएको र स्कुटीलाई ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरीचौकी पथलैयाबाट संयुक्तरुपमा खटिएको प्रहरीटोलीले पच्छयाउँदै जाने क्रम्मा सिमरा बजारस्थित सूर्य नेपाल अगाडि राजमार्गमा फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा मिति २०८१ माघ २८ गते राति १०ः२० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी बरिष्ठ नायवनिरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंज चोकबाट लागूऔषध गाँजा बरामद गरेको छ । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले प्रहरीटोलीलाई देखेपछि झोला फालेर फरार भएको बारा प्रहरीले बताएको छ । झोला खोलेर हेर्दा २ वटा पोकामा २८ केजी लागूऔषध गाँजा बरामद गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
मंगलबार बिहान ९ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय बाराको अमलेखगंजबाट प्रहरी बरिष्ठ नायवनिरीक्षक कार्कीको कमाण्डमा खटिएको प्रहरीटोलीले जीतपुरसिमरा उपमहानगर–२१ अमलेखगंजचोकमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२–०४४ प ६७५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा सवार २ जना व्यक्तिले प्रहरीटोलीलाई देखेर झोला र मोटरसाइकल छोडेर फरार भएको प्रहरीले बताएको छ । झोलाभित्र २ वटा पोकामा २७ केजी लागूऔषध गाँजा बरामद गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।







