रैथाने खाजाको प्रवद्र्धन गर्दै मकवानपुरगढी

साझाकुरा
२०८१ माघ ३०, बुधबार ११:३४

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले रैथानेबालीको संरक्षण गर्नुका साथैं रैथाने खानाको प्रयोगलाई प्राथमिकता दिने भएको छ । पालिकाले यहाँ हुने मेला, महोत्सवमा रैथाने बालीबाट बनेका खाद्य परिकारलाई प्राथमिकता दिने भएको हो । मकवानपुरगढी कृषि विकास शाखाको आयोजनामा भएको रैथानेबाली खाद्य परिकार मेलामा यहाँका स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्न बिक्रीका लागि राखिएको थियो ।

आफ्नै माटो, आफ्नो जात, स्वस्थ्य जीवनको आधार भन्ने नाराकासाथ जुनेलोको लड्डु, कोदोको बिस्कुट, निम्की, फापरको सेल, फुलौरा, स्थानीयस्तरमा पाइने पिँडालु खाजाकारुपमा मेलामा राखिएको थियो । यहाँ स्थानीयस्तरमा उत्पादन भएको अमला, भटमास, कोदो, लोकल राजमा, मास, सेतो सिमी, तितेफापर र तरकारी विक्री गरिएको हो ।

पालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनका लागि सामुदायिक विद्यालयमा विद्यार्थीका लागि दिइने दिवाखाजामा समेत रैथानेबालीको प्रयोग गर्दै आएकोछ । कार्यपालिकाले निर्णय गरेरै पालिकामा रहेका सामुदायिक विद्यालयलाई हप्तामा कम्तिमा एकपटक रैथानेबालीको खाजा खुवाउनु पर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए ।

त्यस्तै यहाँ उत्पादन भएको रैथानेबालीको मूल्य निर्धारण पनि गरिएको कृषि शाखाप्रमुख गोपाल लम्सालले जानकारी दिए । गाउँपालिकाले किसानका लागि उन्नत बीउ वितरण, संकलन र बजारीकरणका लागि सहजीकरण गर्दै आएको जानकारी दिर्दै उनले जग्गा भाडामा लिएर खेतीगर्ने कृषकलाई प्रोत्साहन गर्दैआएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*