प्रजिअ चिलुवालसँग मउवा संघको छलफल
हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालसँग छलफल कार्यक्रम गरेको छ । गत जेठमा सरुवाभई हेटौंडा आएका प्रजिअ चिलुवाल अर्थ मन्त्रालय सरुवा हुँदैछन् ।सोही सन्दर्भमा संघमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बिक्रम शाह, उपअनुसन्धान निर्देशक प्रज्ज्वल खड्का, संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी, संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा नवआगन्तुक सशस्त्र प्रहरीउपरीक्षक सन्तोषबिक्रम शाहको स्वागत पनि गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले प्रजिअ चिलुवालबाट उद्योगी÷व्यवसायीलाई सहजता प्रदान भएको बारे चर्चा गरेका थिए । उनले अर्थ मन्त्रालयबाट व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रजिअ चिलुवालको योगदान रहने विश्वास व्यक्त गरे । संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ताले हेटौंडा उपमहानगरपालिका कार्यालयबाट कर बृद्धि गर्दा प्रजिअ चिलुवालले सहजिकरण गरेको चर्चा गरे ।संघका पूर्वअध्यक्ष सुमार्गीले बिभिन्न कालखण्डमा जिल्लामा आएका प्रजिअहरु र संघबीच सहकार्य हुँदै आएको बताए । उनले सफल उद्यमीले बैंककर्जा पाइरहने तर, संघर्षरत उद्यमीले नपाउने अवस्थामा सुधार गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिलुवालले मौद्रिक नीति प्रभावकारी हुँदा राज्यको नगदप्रवाह सहज हुने बताए । उनले नीति निर्माणबाट प्रणालीमा सुधार गर्दै समाधान खोजिनुपर्ने बताए ।
मकवानपुरमा आफ्नो कार्यअवधिमा बाढीपहिरोको बिपत्ति सामना गर्नुपरेको र तत्कालै सडक मर्मत गरी संचालनमा ल्याउन सफल भएको चर्चा गरे । उनले फास्टट्र्याक, विद्युत प्रसारण लाइन जस्ता क्षेत्रमा पनि कार्यसम्पादन गर्न पाएको बताए । मकवानपुरको सुरक्षासंयन्त्र प्रभावकारी रहेको उनको भनाई थियो । प्रविधिको उपयोग गर्दै कार्यसम्पादन प्रभावकारी गर्नुपर्ने उनको धारणा थियो ।बजार अनुगमन व्यवसायीलाई व्यवसाय गर्न प्रोत्साहित गर्ने मनसायबाट हुनुपर्ने, पूनर्कर्जाको अवधारणा बैंकको व्याजभार भर्पाइ मात्र हुनेगरी भन्दापनि व्यापार बृद्धि गर्नेगरी बनाउनुपर्ने, चोरीपैठारी निरुत्साहित गर्दै फेयर ट्रान्जेक्शन गर्नेलाई प्रोत्साहित गर्नेगरी नीतिगत सुधार गर्नुपर्ने, कारोबार शुन्य हुँदा तिरेको कर आगामी दिनमा आयकरमा समायोजन गर्न पाउने व्यवस्था हुनुपर्ने जस्ता विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा संघका महासचिव प्रतिमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले आफ्ना भनाई राखेका थिए ।







