‘हाम्रोघर बालगृह’को अक्षयकोष स्थापनार्थ महायज्ञ सुरु
हेटौंडा- ग्रामिण जीवनस्तर सुधार मञ्चले हेटौंडा उपमहानगरपालिका–५ मा संचालन गर्दै आईरहेको ‘हाम्रोघर बालगृह’को अक्षयकोष स्थापनार्थ आज बिहीबारबाट हेटौंडामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको सुरुवात भएको छ ।२०६५ सालबाट संचालनमा आइरहेको बालगृहलाई थप व्यवस्थित र दिगोपनका लागि अक्षयकोष स्थापनार्थ सुरु भएको महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले राज्यले गर्नुपर्ने अति महत्वपूर्ण काम सार्वजनिक संघसंस्थाले गर्नु नमूना काम भएको भन्दै यस्ताखाले पवित्र कामलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
अविभावकबाट विमुख भएका बालबालिकाको अविभावक भएर हाम्रोघरले समाजमा उदाहरणीय काम गरेको बताउँदै मन्त्री ठकुरीले निकै पवित्र उद्देश्य राखेर सुरु गरेको महायज्ञलाई सबै नागरिकले दिल खोलेर सहयोग गर्न अनुरोध गरेका छन् । २०७० सालबाट आफ्नै भवनबाट सेवा दिईरहेको बालगृहको दिगोपनको लागि महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्दै मन्त्री ठकुरीले आफूले सरकारमार्फत बालगृहलाई सहयोगको लागि आवश्यक पहलकदमी गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
हाल १० बालिका सहित २७ जनाले आश्रय पाइरहेको बालगृहलाई दाताको दान विना संचालन गर्न कठिन हुने भन्दै आफूहरुले पुण्यकाममार्फत अक्षयकोष स्थापनार्थ सप्ताहको आयोजना गरेको संस्थाकी अध्यक्ष इन्दिरा डल्लाकोटी न्यौपानले बताइन् । अहिलेसम्म दुखःसुख गरेर बालगृह संचालन गरेको बताउँदै उनले महायज्ञबाट बालबालिकाको सफल भविष्यको लागि काम गर्न सकिने लक्ष्य लिइएको उनको भनाई रहेको छ ।
उद्घाटनको दिन दानको लागि दातासँग अनुरोध नगर्दा समेत नगद २० हजार रुपैयाँ संकलन हुनु शुभसंकेत भएको बताउँदै उनले जिल्लाका सबै स्थानीय तह, जनप्रतिनिधि तथा संघसंस्था, उद्योग व्यवसायीका प्रतिनिधिलाई सहयोगको लागि अपिल समेत गरेकी छिन् । फागुन ९ गतेसम्म संचालन हुने महायज्ञमा रामचन्द्र तिमल्सिनाले प्रमुख कथावाचन् गर्नेछन् भने उनलाई हरिचन्द्र तिमल्सीनाले सघाउने आयोजकले जनाएको छ । महायज्ञ हरेक दिन विहान ७ बजेदेखि रातको ९ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा समाजसेजवी सीताराम बर्तौला, महिलाउद्यमी मेनका श्रेष्ठ, हेटौंडा लेडी जेसीजकी कार्यकारी उपाध्यक्ष इन्दु बानियाँलगायको आतिथ्यता रहेको थियो ।







