मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थपियो सिट
हेटौंडा- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)मा सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा गरेर २३१ सिट संख्या थप गरेको छ ।सिट संख्या थप गर्ने निर्णय गर्दा हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि सिट थप भएको छ । यसअघि ९ वटा सिट मागेको प्रतिष्ठानलाई आयोगले एक सिट मात्रै दिएको थियो । प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चारवटामा घटाउने निर्णय गरेको छ । बैठकले प्रदेशका दुई प्रतिष्ठानमा २२ सहित १४ वटा संस्थामा २३१ सिट थप गर्ने निर्णय गरेको हो ।
आयोगले गत साता एक सिट मात्र दिएको भनिएको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सिट संख्या थप भएको हो । १७ औं बैठकले मदन भण्डारी प्रतिष्ठानलाई आठ सिट दिने निर्णय गरेको हो । आयोगले यसअघि बागमती प्रदेश सरकारले प्राथकितामा राखेको प्रतिष्ठानलाई जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन (एमडिजिपी) मा एक सिट मात्र उपलब्ध गराएको हो । प्रतिष्ठानले आयोगले तोकेको मापदण्ड भित्र रहेर विभिन्न ९ वटा विषयमा १८ वटा सिट माग गरेको थियो ।
आयोगबाट अनुगमनका लागि गएको विज्ञटोलीले पनि प्रतिष्ठानको निरीक्षणपछि कक्षा सञ्चालन अनुमति दिन उपयुक्त रहेको सिफारिस गरेको थियो । प्रतिष्ठानले अब्सटेट्रिक्स एन्ड गाइनो, ईन्टर्नल मेडिसिन, जेनेरल सर्जरी, एमडिजीपी, पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, फार्माकोलोजी÷ क्लिनिकल फार्माकोलोजी, अर्थोपेडिक्स, अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी र पेरिडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजीका लागि सिट माग गरेको उपकुलपति डा. प्रदीप ज्ञवालीले जानकारी दिए । प्रतिष्ठानमा बिएससी नर्सिङ, बिपीएच, ब्याचलर ईन फार्मेसी र बिएससीएमएलटी गरी ४ वटा विषय अध्ययन अध्यापन भइरहेको छ ।
प्रतिष्ठान मातहत रहेको हेटौंडा अस्पतालमा दैनिक १५ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौंडा अस्पतालको पूर्वाधार विकासका लागि एकअर्ब ३१ करोड रुपैयाँ लगानी भईसकेको छ । अस्पतालले थप २ सय शैया सञ्चालन गर्न मिल्नेगरी पूर्वाधार विकास गरेको छ । बागमती प्रदेश सरकारले प्रतिष्ठान सञ्चालनका लागि वार्षिक २४ करोड रुपैयाँ लगानी गरिरहेको छ । हाल ३ सय ५० विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानमा ४२ जना प्राध्यापक कार्यरत छन् ।







