किसान कल्याण सहकारीले रजतजयन्ती मनाउने
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–८ कमानेमा अवस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको रजतजयन्तीमा विविध कार्यक्रम गरेर मनाउने भएको छ ।सहकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै विविध कार्यक्रमबारे जानकारी गराएको थियो । संस्थाका अध्यक्ष मोतीलाल लामाले संस्थाको २५ औँ रजतजयन्तीको अवसरमा ३ गते शनिबार विहान मोटरसाइकलद्धारा प्रभातफेरी कार्यक्रम गरिने बताए । वडा नम्बर ८ को विभिन्न क्षेत्र परिक्रममा गरी प्रभातफेरी कार्यक्रम गरिने उनले बताए । ६ गते मंगलबार संस्थाको कार्यालयमा विहान रक्तदान कार्यक्रम रहेको छ भने ७ गते १७ वटा टोल विकासका १०÷१० जनाको सहभागितामा महिला÷पुरुष डोरी तान्ने कार्यक्रम हुने अध्यक्ष लामाले बताए ।
८ गते विहीबार ओमनगर औद्योगिक गेटबाट मेनरोड सरसफाई कार्यक्रम रहेको छ । ९ गते चन्द्रोदय माध्यमिक विद्यालयमा वडामा रहेका बालसमूहबीच हाजिरिजवाफ प्रतियोगिता आयोजना हुने अध्यक्ष लामाले बताए । यसैगरी ११ गते आइतबार चन्द्रोदय माविका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिनेछ भने १७ गते शनिबार पुरस्कार वितरण, संस्थापक सम्मान तथा सम्पूर्ण कार्यक्रमको समापन गरिने अध्यक्ष लामाले बताए । संस्थाको १४९ संस्थापक सदस्यमध्ये ५९ जना शेयरसदस्यलाई चादीँको जलप भएको रजतजयन्ती लेखिएको लकेट प्रदान गरी सम्मान गरिने अध्यक्ष लामाले बताए ।
कार्यक्रमलाई करिब तीन लाख खर्च हुने अनुमान रहेको संस्थाका व्यवस्थापक केशबकुमार शाहीले बताए । बचत तथा ऋणको कारोबारसँगै सहकारीले दैनिक दुई सय लिटर तेल उत्पादन गरी हेटौंडा, काठमाडौं, चितवनलगायत अन्य सहरमा विक्री गर्दै आइरहेको छ । सहकारीले माघ मसान्तसम्ममा सदस्यलाई ६ करोड २५ लाख कर्जा लगानी गरेको छ भने संस्थामा तीन करोड ६५ लाख बचत निक्षेप रहेको व्यवस्थापक शाहीले बताए । एघार सय सदस्य आवद्ध रहेको सहकारीमा एक करोड ६ लाख शेयरपुजीँ रहेको छ ।







