हेटौंडाको राप्तीको पानी सुरुङबाट बीरगंज लगिने

साझाकुरा
२०८१ फाल्गुन ४, आईतवार ११:५५

हेटौंडा- पछिल्ला दिनमा मकवानपुरको सीमानामा रहेका बारा र पर्साका बिभिन्न बस्तीमा पउिनेपानीको चरम संकट बढ्दै गएपछि पानी अभाव पूर्ति गर्न हेटौंडाबाट पानी लगिने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौंडाको राप्ती नदीबाट पर्सा र बारामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

हेटौंडाको पानी बीरगंज सम्म पु¥याउनका लागि चुरे क्षेत्रमा सुरुङ खन्ने योजना रहेको छ । यसको लागि विभागले परामर्शदाताबाट आशयपत्र (टेण्डर) आह्वान गरेको छ । खानेपानी मन्त्री प्रदीप यादवको परिकल्पना र पहलअनुसार विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदातालाई सूचना प्रकाशित गरी टेण्डर आह्वान गरिएको विभागले जनाएको छ ।

त्यसैगरी जलवायु परिवर्तनका कारण नेपालको पानी स्रोतमा गम्भीर असर परेको तथा विशेष गरी तराई क्षेत्रमा भू–जलको सतह घट्दै गएको, मधेश प्रदेशका जिल्ला, विशेष गरी पर्सा र बारामा लामो समयदेखि खानेपानीको समस्याबाट ग्रसित रहेका तथा तराई मधेशका क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएकोमा त्यसको समाधान गर्न यो अध्ययन गर्न लागिएको विभागले जनाएको छ ।

राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययन स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गरी जलस्रोतको दीगो उपयोग गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण रहने मन्त्री यादवले बताए । ‘यो अध्ययनले उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यताका अन्य पक्ष पहिचान गर्न मद्दत गर्नेछ । जसले भविष्यमा विस्तृत अध्ययन तथा कार्यान्वयनको आधार तयार गर्नेछ,’ उनले भने ।

अध्ययनका प्रमुख उद्देश्यमा पानी अभावको मूल्यांकन, बारा र पर्सामा हालको पानी अभावको अवस्थाको अध्ययन गर्ने र पानीको मागको विश्लेषणअन्तर्गत आगामी २५ वर्षको लागि आवश्यक खानेपानीको प्रक्षेपण गरी दीगो सामाधानको लागि सम्भावित जलस्रोतको पहिचान गरी राप्ती नदी तथा अन्य वैकल्पिक जलस्रोतका गुणस्तर, उपलब्धता, तथा स्थायित्वको मूल्यांकन, वातावरणीय र सामाजिक प्रभाव अध्ययन–जलस्थानान्तरण तथा वितरण संरचनाले वातावरण र समुदायमा पार्ने प्रभावको प्रारम्भिक मूल्यांकन तथा लगानी र लागत लाभ विश्लेषण, परियोजनाको लागत तथा संभावित लाभको अध्ययन गरिने जनाइएको छ ।

परियोजनाको कार्यको क्षेत्र र अध्ययन प्रक्रियाअन्तर्गत अध्ययनको सेवाक्षेत्रअन्तर्गत बारा र पर्सा का भूभाग सामेल रहेका छन् । हाइड्रोलोजिकल, जियोलोजिकल तथा सामाजिक सर्वेक्षण गरी जलस्रोतको उपयोग तथा जलस्थानान्तरण प्रणालीको प्रभावकारिता निर्धारण तथा पानी वितरण प्रणाली, टनेल वा पाइपलाइन संरचनाको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*