मकवानपुरगढीमा डढेलो नियन्त्रणका लागि सचेतना
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक अभियानअन्तर्गत् कार्यक्रम आयोजना भएको छ ।विश्व सालक दिवसको अवसरमा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–६, बाघभैरव सामुदायिक वन समूह मकवानपुरगढी–२ र अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–१७ को संयुक्त आयोजनामा सचेतनामूलक अभियान भएको हो । अभियानअन्तरगत शिखरकटेरीदेखि सुरु भएको सचेतनामूलक ¥याली गैरीभञ्ज्याङ पुनःशिखरकटेरीमा फर्किएर अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रियामा मकवानपुरगढी सव डिभिजन फरेष्टर देवेन्द्र सञ्जेल र हर्नामाडी सव डिभिजन सहायक वनअधिकृत मदन घिमिरेले सहजीकरण गरेका थिए । त्यस्तै, वनविज्ञान अध्ययन संस्थान हेटौंडाका विद्यार्थीले सालकबारे जानकारी गराएका थिए । मकवानपुरगढी–२ का वडाअध्यक्ष बखानसिंह पाख्रिनको प्रमुख आतिथ्यता एवम् चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुरगढी–२ का वडासदस्य रामप्रसाद चौरेल, इप्रका मकवानपुरगढी, प्रहरी निरीक्षक बीरेन्द्र रायमाझी, सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य दुर्गा महत, पत्रकार रुपेश दुलाल, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष गम्भीरराज न्यौपाने, अशोक सामुदायिक वन समूहका अध्यक्ष रमेशकुमार राई, चुच्चेखोला सामुदायिक वन उपभोक्ता सामूहका कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य नारायण ढकाल, वनरक्षक किरणकुमार क्षेत्रीलगायतको सहभागिता थियो । सामुदायिक वन समूहका उपभोक्ता, टोल विकास संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायत उपस्थिति थियो । प्रत्येक वर्षको फेब्रुअरीको तेस्रो शनिबार मनाइने सालक दिवसको यसवर्षको नारा ‘सालक संरक्षणको लागि युवा विरासत’ रहेको छ ।







