हेटौंडा सिमेन्टको उत्पादनकार्य अन्यौलमा

साझाकुरा
२०८१ फाल्गुन ५, सोमबार ११:१३

हेटौंडा, ४ फागुन÷सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादनकार्य अझैसम्म पनि अन्यौलमा परेको छ । लामो समयदेखि बन्द र आर्थिक संकट गहिरिँदै गएको हेटौंडा सिमेन्टको उत्पादनकार्य अन्यौलमा परेको हो ।हेटौंडा सिमेन्ट उद्योग विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि बन्द भएको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने भनिएपनि यो कार्य हालसम्म सुरु हुन सकेको छैन । सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले उत्पादन सुरुहुन नसक्नुमा उपकरण मर्मतको मात्रै एउटा पाटो नभएको बताउँदै आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता परेको जानकारी दिए ।

प्रवक्ता आचार्यका अनुसार उत्पादनकार्य ठप्प भएपनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकोले आर्थिक भार बढ्दै गएको छ । उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना, उद्योगको सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताए । प्रवक्ता आचार्यका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थको पनि समस्या छ ।

‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तिमा दैनिक एक सय २० मेट्रिकटन कच्चापदार्थ कोइलाको आवश्यक पर्छ’, उनले भने, ‘तर त्यो पनि उद्योगमा मौज्दात छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।’ यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन’, उनले भने । वि.सं २०३३ सालमा स्थापना भएको उद्योगले २०४३ देखि ब्यवसायिक रुपमा सिमेन्ट उत्पादन कार्य सुरु गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*