भुटनदेवी मन्दिरको धर्मशाला मर्मत गरिने
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिले मन्दिर परिसरमा रहेको धर्मशालाको मर्मतसम्भार गर्ने तयारी गरेको छ । हर्षलाल श्रेष्ठबाट वि.स. २०३१ सालमा निर्मित धर्मशाला पुरानो भई समयानुकूल जीर्णोद्वारा गर्नुपर्ने भएकोले निर्माणकर्ताका परिवारसँग समन्वय गरी मर्मतसम्भार र जीर्णोद्वारको लागि आवश्यक पहल गर्न लागिएको हो । मन्दिरमा दर्शनको लागि आउने भक्तजन र धार्मिक पर्यटकको आकर्षणको लागि बगैंचाको स्तरोन्नति कार्यलाई तीव्रगतिमा अगाडि बढाउने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष राममान श्रेष्ठका अनुसार विभिन्न जातजातिका फूलविरुवा रोपी आवश्यक संरचना निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न दाताको खोजीकार्य भइरहेको छ । त्यसैगरी शक्तिपीठको दिगो आयश्रोतको रुपमा रहेको पाहुनाघर, चमेनागृहको स्तरोन्नतिको लागि स्थानीय निकायसँग सहयोग र सहकार्यको लागि समिति लागिपरेको अध्यक्ष श्रेष्ठले बताए । विभिन्न सरोकारवालासँग आवश्यक छलफल गरी चमेनागृह र पाहुनाघरलाई थप व्यवस्थित र प्रभावकारी सञ्चालन गरिने समितिले जनाएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार मन्दिरमा बाँदरको कारण विद्युत लाइनको तारमा समस्याका हुने गरेको छ । त्यसको लागि विद्युत सप्लाई व्यवस्थित गर्न विद्युत लाईन भूमिगत गर्ने कार्यलाई पनि अगाडि बढाउने अध्यक्ष श्रेष्ठको भनाई छ । शक्तिपीठको क्षेत्रभित्र निर्माण भएका र निर्माण हुने संरचनाको लागि गुरुयोजना तयार पार्न स्थानीय सरकारसँग समन्वय र सहकार्यको कामलाई आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न गरिने उनले बताए ।







