मकवानपुरमा २० हजार किशोरीले लगाए एचपीभी खोप

साझाकुरा
२०८१ फाल्गुन ६, मंगलवार १०:५८

हेटौंडा- मकवानपुरमा हालसम्म १९ हजार भन्दा बढी किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन् । माघ २२ गतेदेखि सुरु भएको अभियानअन्तर्गत मकवानपुरमा २२ हजार ७ सय १३ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएकोमा फागुन ४ गते आइतबारसम्म ८७ दशमलब ४ प्रतिशत अर्थात १९ हजार ८ सय ५७ जना किशोरीले खोप लगाएका हुन् ।प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुसार प्रदेशका १३ वटै जिल्लाका २ लाख ४६ हजार ८ सय ३५ जना किशोरीले खोप लगाएका छन् । फागुन ६ गतेसम्म चल्ने अभियानमा २ लाख ९८ हजार ९ सय ५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ८२ दशमलब ६ प्रतिशत अर्थात २ लाख ४६ हजार ८ सय ३५ जना किशोरीले एचपीभी खोप लगाइएका छन् ।

मन्त्रालयका अनुसार नुवाकोटमा ११ हजार १ सय ९ जना किशोरीले खोप लगाउँदा दोलखामा ६ हजार ५ सय २० किशोरीले खोप लगाएका छन् । यसैगरी रामेछापका ६ हजार ९ सय ५० जना, सिन्धुपाल्चोकका १० हजार १ सय १४ जना, सिन्धुलीका १४ हजार ५८ जनाले खोप लगाएका छन् । यसैगरी रसुवाका १ हजार ६२० जनालाई एचपीभी खोप लगाइएको मन्त्रालयले जनाएकोछ । मन्त्रालयका अनुसार काभ्रेका १५ हजार २ सय ३२ जना, धादिङका १२ हजार ८ सय ८५ जना, चितवनका २६ हजार ३ सय २९ किशोरीले खोप लगाएका छन् ।

यस्तै भक्तपुरका १५ हजार ९ सय ४७ जना, काठमाडौंका ८२ हजार ७ सय ४४ जना र ललितपुरका २३ हजार ५ सय १९ जना किशोरीले एचपीभी खोप लगाएका छन् । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका खोपकेन्द्रमार्फत खोप प्रदान गरिएको हो ।खोप अभियान सञ्चालनका लागि प्रदेशमा ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*