महोत्सवको सम्पूर्ण तयारी पूरा, गृहमन्त्रीले उद्घाटन गर्ने
हेटौंडा-निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापारमहोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसियनचौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । स्टल र स्टेज निर्माण, टिकटघर लगायत पूर्वाधारको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिएका छन् । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने उनले बताए ।
फागुन ६ गते बिहान १०ः३० बजे हुप्राचौरबाट पारिजातपथ, बुद्धचोक, टिसियनचौरसम्म शोभायात्रा गरिने आयोजकले जनाएको छ । महोत्सवको दोश्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुति रहनेछ । हेटौंडा आईडलमा प्रारम्भिक चरणमा १६ जना छनोट भइसकेका छन् । निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनी र बिक्री गरिने अध्यक्ष कँडेलले बताए । महोत्सवको अवधिमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताका राय, सल्लाह, सुझाव संकलन गरिने उनले बताए ।
महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री लगायत ३ सय ५० वटा स्टल रहनेछ । महोत्सवको प्रवेश शुल्क ७५ रुपैंयाँ र विद्यार्थीको लागि ५० रुपैंयाँ तोकिएको आयोजकले जनाएको छ । २०७१ सालमा पहिलोपटक महोत्सव गरेको संघले १० वर्षपछि पुनः महोत्सव गर्न लागेको हो ।







