वक्तृत्वकलामा बंशगोपालका सज्जित लामिछाने प्रथम
हेटौंडा- हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बंशगोपाल माविका सज्जित लामिछाने प्रथम भएका छन् ।समूहले अन्तर्राष्ट्रिय सालक दिवसको अवसरमा सालक संरक्षणमा सरोकारवालाको जिम्मेवारी र भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा लामिछाने प्रथम भएका हुन् । प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछानेमगर द्वितीय र बंशगोपाल बहुमुखी क्याम्पसकी पूजा लम्साल तृतीय भएका छन् ।
हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा रुपेश दुलाल र नानीमाया रुम्बाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, सुनौलो आयआर्जन महिला समूहकी अध्यक्ष पवित्रा रुम्वा, समूहकी कोषाध्यक्ष गोमा लामिछाने, कार्यालय सचिव भीमसेन पौडेललगायतको उपस्थिति रहेको थियो ।







