एउटै मञ्चमा ९ जना स्रष्टा सम्मानित हुने

साझाकुरा
२०८१ फाल्गुन ८, बिहीबार १०:५५

हेटौंडा- मातृभूमि साहित्य समाज मकवानपुरले एउटै मञ्चमा ९ जना स्रष्टालाई सम्मानित गर्ने भएको छ । समाजले फागुन २४ गते वार्षिक साधारणसभाको अवसरमा विभिन्न ७ वटा विधामा ९ जना स्रष्टालाई सम्मानित गर्न लागेको हो । समाजको कार्यसमितिको विशेष बैठकले पुरस्कार छनोट समितिको सिफारिसबमोजिम सम्मान तथा पुरस्कार प्राप्त गर्ने स्रष्टाबारे निर्णय समेत गरेको सचिव किशन पौडलले जानकारी दिए ।

नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार–२०८० गीतकार सुभाषचन्द्र ढुंगेललाई प्रदान गरिने भएको छे । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । यो पुरस्कार वरिष्ठ समाजसेवी मुक्तिगोविन्द वैद्यले आफ्ना पिता संगीतकार नित्यगोविन्द वैद्यको स्मृतिमा स्थापित गरेका हुन् । १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार–२०८० अनुवादक साहित्यकार डा.विष्णु भण्डारी (आसाम) लाई प्रदान गरिने भएको छ । यो पुरस्कार समाजसेवी÷शिक्षाप्रेमी आशीष श्रेष्ठले आफ्ना स्वर्गीय पिता श्याम श्रेष्ठको स्मृतिमा स्थापना
गरेका हुन् ।

समाजसेवी अर्चना शर्मा रिजालले आफ्ना पति शेखर शर्मा रिजालको स्मृतिमा स्थापना गरेको शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार–२०८० असल पाख्रिन, बेबी खातुन र परीक्षा खतिवडालाई प्रदान गरिने भएको छ । पुरस्कार राशि प्रतिव्यक्ति १५ हजार रुपैयाँ रहेको छ । प्रत्येकवर्ष मकवानपुर जिल्लामा सामुदायिक विद्यालयतर्फ प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई यो पुरस्कार प्रदान गरिने सचिव पौडेलले जानकारी दिएका छन् ।

ईश्वरी स्मृति मातृभूमि सम्मान–२०८० काठमाडौंका साहित्यकार नरेन्द्रराज पौडेललाई प्रदान गरिने निर्णय भएको छ । १५ हजार राशीको यो पुरस्कार मातृभूमि साहित्य समाज मकवानपुरका विशिष्ट आजीवन उपासक तथा वर्तमान अध्यक्ष कृष्णप्रसाद दाहालले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन् । यो सम्मान विविधक्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई २०७० सालदेखि प्रदान गर्दै आइरहेको छ ।

हातेमालो मातृभूमि युवा सृजनशील सम्मान–२०८० साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि १० हजार रुपैयाँ रहेको छ । २०६५ सालमा समाजले आफ्नै नाममा स्थापना गरेको यो सम्मान २०७२ सालदेखि हातेमालो बचत तथा ऋण सहकारी संस्था हेटौंडाले प्रायोजन गर्दै आइरहेको छ । मंगलादेवी स्मृति मातृभूमि बाल पुरस्कार–२०८० गायिका गृष्मा गहतराजलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार राशि ७ हजार ५ सय रुपैयाँ रहेको छ । यो पुरस्कार शिक्षासेवी देवप्रसाद श्रेष्ठले आफ्नो माता मंगलादेवी श्रेष्ठको स्मृतिमा २०७७ सालमा पुरस्कार स्थापना गरेका हुन् ।

प्रतिभाशाली बालबालिकालाई यो पुरस्कार प्रदान गरिन्छ ।शारदा उप्रेती स्मृति मातृभूमि सम्मान–२०८० कलाकार ज्ञानरत्न लामालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार राशि १० हजार रुपैयाँ रहेको छ । यो पुरस्कार अधिवक्ता चुडाराज उप्रेतीले २०८० सालमा स्थापन गरेको सचिव पौडेलले जानकारी दिए । मातृभूमि साहित्य समाज मकवानपुर भाषा, कला, साहित्य र संगीतको संरक्षण गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो । समाजले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई हरेकवर्ष सम्मान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*